२०८२ मंसिर २० , शनिबार 6, December 2025, Saturday

सिमसार संरक्षणले बढ्दै अजिंगर

सत्यपाटी
सत्यपाटी । कञ्चनपुर । २०८१ फागुन २० गते मंगलबार

सिमसार क्षेत्र संरक्षण हुन थालेपछि कञ्चनपुरमा अजिङ्गरको सङ्ख्या बढ्दै गएको छ । वनभित्र रहेका सिमसार, पोखरी, ताल तलैया, नदी, खोला लगायत संरक्षणमा टेवा पुगेपछि अजिङ्गरको सङ्ख्या बढ्दै गएको हो । जिल्लाको बेलौरी र पुर्नवास क्षेत्रमा पछिल्लो पाँच वर्षयतादेखि अजिङ्गर देखिन थालेका हुन् ।

अन्य क्षेत्रका वन, नदी खोला, तालतलैया नजिकका बस्तीमा पनि अजिङ्गर देखापर्ने गरेका स्थानीय बताउँछन् । पाँच वर्षको अवधिमा दुवै क्षेत्रबाट ५६ बढी अजिङ्गरको उद्धार गरी सुरक्षित रूपमा प्राकृतिक बासस्थानमा छाडिएको कुण्डा सबडिभिजन वन कार्यालयका प्रमुख दिनेशकुमार यादवले जानकारी दिए ।

उनका अनुसार यस वर्षको साउनदेखियता नौ वटा अजिङ्गरको उद्धार गरी सुरक्षित रूपमा छाडिएको छ । संरक्षणको सूचीमा सूचीकृत अजिङ्गर बेलौरी नगरपालिका–१, २, ३, ५ र ७ मा अधिक देखापरेका छन् भने पुर्नवास नगरपालिका–१, ४, ६ र ११ मा बढी देखिएका प्रमुख यादवले बताए ।

‘पुनर्वास र बेलौरी क्षेत्रमा अधिक रूपमा सिमसार क्षेत्र रहेका छन्,’ प्रमुख यादवले भने, ‘अजिङ्गरलाई पर्याप्त आहारा पाइने, तालतलैया, नदी, खोला रहेका छन्, उपयुक्त हावापानी छ, उखुखेती पर्याप्त मात्रामा भएकाले उपयुक्त बासस्थान छन् ।’ उत्तरमा लालझाडी वन क्षेत्र, दक्षिणमा भारतीय दुधवा नेशनल पार्क, पश्चिममा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको क्षेत्र भएकाले बेलौरी र पुनर्वासमा बढी अजिङ्गर फेला पर्ने गरेका उनले बताए ।

‘विगतमा अजिङ्गर देखापर्ने बित्तिकै मार्ने गरिन्थ्यो,’ उनले भने, ‘हाल वन्यजन्तुको संरक्षण गर्नुपर्छ, ‘इकोसिस्टम’ बचाउनका जिवजन्तुको महत्वपूर्ण योगदान रहन्छ भन्ने कुरा सर्वसाधारणले बुझ्न थालेका छन्, अजिङ्गर देखापर्ने बित्तिकै स्थानीयले खबर गर्छन्, आफैँ पनि सुरक्षित रुपले उद्धार गरी बुझाउने गर्दछन् ।’ उद्धार गरिएको अजिङ्गरलाई सुरक्षित बासस्थानमा लगेर छाडिने गरेको उनले बताए ।

प्रकाशित मिति : २०८१ फागुन २० गते मंगलबार