सूचनाको शक्ति - The Power Of Information

        

सुदूरपश्चिम बिहानैदेखि वर्षा, दिउँसो कहाँ-कहाँ पर्नेछ पानी ?

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसका कारण देशका केही भूभागमा आज वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार धेरै भूभागमा भने मौसम बदलीदेखि सामान्यतया सफा रहनेछ । बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको छ । लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफा छ ।

सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

‘काठमाडौंमा आज मौसम बदली हुनेछ । बदली भए पनि वर्षाको सम्भावना भने छैन,’ मौसमविद् प्रतिभा मानन्धरले भनिन्, ‘एउटा प्रणाली त छ, तर वर्षा गराउने खालको छैन ।’ हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा हुनुको साथै कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले यसको प्रभावबाट दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलवार ०६:४४

लोकप्रिय