बाँकेमा १३ पटकसम्म औषधी खुवाउने अभियान सञ्चालन गरेपनि प्रभावकारी नभएपछि १४ औं पटक सुरु गरिएको हात्तीपाइले रोगविरुद्धको आम औषधी सेवन कार्यक्रम सुस्त गतिमा चलिरहेको छ ।
नेपालगन्ज उपमहानगर, नरैनापुर गाउँपालिका र बैजनाथ गाउँपालिकाको एउटा वडामा सञ्चालन गरिएको हात्तीपाइले रोगविरुद्धको आम औषधी सेवन कार्यक्रम यस पटक पनि सफल हुने कुरामा निकै चुनौती देखिएको स्वास्थ्यकर्मीहरुले जनाएका छन् ।
स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग फोकल पर्सन दुर्गा गौतमले जनप्रतिनिधिहरुले नै सहयोग नगरेकोले अभियान सफल पार्न निकै चुनौती उत्पन्न भएको बताइन् । उनले फेरी नेपालगन्जमानै सबैभन्दा ठुलो चुनौती देखिएको जनाउँदै अधिकांश जनप्रतिनिधिले सहयोग नगरेको गुनासो गरिन् ।
उता, नरैनापुर गाउँपालिकाका अनुसार अभियानको आठौं दिनसम्म ४४.६ प्रतिशत जनसङ्ख्याले औषधी सेवन गरेका छन् । पालिकाका स्वास्थ्य संयोजक नगेन्द्रकुमार शाहले अहिलेसम्म नरैनापुरमा १८ हजार ३६ जनाले औषधी खाएको जनाउँदै यसलाई ८० प्रतिशत पुर्याउने अभियानमा आफुहरु लागेको बताए ।
नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहका अनुसार सरकारले हरेक वर्ष करोडौं रुपियाँ यो अभियानमा खर्च गरेपनि लक्षित वर्गले औषधी नखाँदा अभियान प्रभावकारी हुन सकेको छैन । उनले ग्रामीण भेगको तुलनामा शहरी क्षेत्रमा औषधीप्रति भ्रम बढी रहेको र शिक्षित वर्गले नै औषधी नखाने गरेको बताए ।
स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगदबहादुर शाहीका अनुसार यस पटकको अभियानअन्तर्गत बाँकेका दुई पालिका र एक वडामा दुई लाख ५७ हजार जनालाई औषधी खुवाउने लक्ष्य राखिएको छ । उनले औषधी सेवन गराउन स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ्य सङ्गठन र स्थानीय स्वास्थ्यकर्मीहरू सक्रिय रहेपनि अपेक्षित परिणाम आउन नसकेको देखिएको बताए ।
नेपालगन्जका धार्मिक संस्था र अगुवाहरुले औषधी सेवन गरेर देखाउँदा पनि समुदायमा सो अभियान प्रभावकारी बन्न सकेको छैन । यसैबिच नेपालगन्जमा दारुल उलुम फैजुन्नबी जामा मस्जिदमा धर्मगुरुहरूलाई औषधी खुवाइएको छ । मस्जिदका अध्यक्ष अब्दुल रहमान मियाँ र मुफ्ती जाफर रजाले सबैलाई औषधी सेवन गर्न आग्रह गरेका छन् ।
यसअघि १३ पटकसम्म औषधी खुवाउने अभियान असफल भएपछि यस पटक बाँके जिल्लामा मात्रै १४ औं पटक अभियान सञ्चालन गरिएको छ । यसपटक ८० प्रतिशतले औषधी खाएनन् भने नेपाललाई सन २०३० सालमा हात्तीपाइले रोग मुक्त घोषणा गर्न सम्भव नहुने इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत रामकुमार महतोले बताए ।
नेपालमा सन् २००३ देखि हात्तीपाइले रोगविरुद्धको औषधी खुवाउन थालिएको हो । सन् २०२० मा यो अभियान १३ जिल्लामा सीमित रह्यो । बाँकेमा सन् २०१० (वि.सं.२०६७) देखि अभियान सुरु भए पनि अहिलेसम्म लक्ष्य पूरा हुन सकेको छैन ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके