सूचनाको शक्ति - The Power Of Information

        

बैतडीमा वर्षासँगै हिमपात, पहिरोले लोकमार्ग अवरुद्ध

बैतडी लगायत सुदूरपरिचमका पहाडी जिल्लामा बिहीवार साँझदेखि हिमपातसँगै पानी परिरहेको छ । लामो समयपछि हिमपात र पानी परेपछि बैतडीका कृषकहरुमा खुशी छाएको छ । गत असोजदेखि बैतडीमा छिटफुट वर्षा भए पनि पर्याप्त पानी नपरेको डिलाशैनी गाउँपालिका कृषक तिलकबहादुर मालले बताए ।

यस्तै हिउँसँगै लगातार पानी परिरहेकोले चिसो बढेर दैनिक जनजीवन समेत प्रभावित भएको छ । चिसोका कारण स्थानीय घरबाहिर विरलै निस्किएका छन् । सडक तथा बाटोमा पनि यात्रुको आवागमन कमै छ । बैतडीका कृषकहरुको मुख्य हिउँदे बाली गहूँ पानी नपरेका कारण हुर्कन सकेको थिएन । पानी परे पछि अन्न, फलफुल, जडिबुटी, पशुपालन फस्टाउने मेलौली नगारपालिका–२ का कृषक देवदत्र भट्टले बताए ।

हिमपातसँगैको पानीले कृषक र माटोलाई ठूलो फाइदा पुर्याउने र माटोलाई आवश्यक चिस्यान कायम राख्दै उर्वराशक्ति बढाउँने दशरथचन्द नगरपालिका कार्यालयका कृषि प्राविधिक दिपक कार्कीले बताए । हिउँ पग्लिएपछि माटोमा नाइट्रोजन मिसिने भएकाले बालीलाई आवश्यक पोषण दिन मद्दत पुग्ने र यसले रोग र कीरा नियन्त्रणमा पनि सहयोग पुर्याउनका साथै भूसंरक्षणमा पनि योगदान पुग्ने कार्कीले बताए ।

हिमपात र पानीले नदी, इनार, पोखरी, र खेतीयोग्य जग्गामा पानीको मात्रा बढाउँछ, जसले सिंचाइका लागि पर्याप्त पानी उपलब्ध गराउँछ । ढिलो गरी पानी र हिउँ परे पनि स्याउ, ओखर र गहुँ, जौ, तोरी लगायतका बाली र फलफूल खेतीमा उत्पादन राम्रो हुने भएकाले कृषक खुशी भएको सिगास गाउँपालिका ०३ का रामचन्द्र ऐरीले बताए ।

पानी र हिमपातले माटोको उर्वर शक्ति बढाउने, हानीकारक कीरा नियन्त्रण गर्ने गर्नुका साथै बालीको उत्पादनमा समेत सुधार हुने कृषि ज्ञान केन्द्र बैतडीका कृषि प्राविधिक महेश पाण्डेले बताए । यसैबीच महाकाली नगरपालिका–५ किम्तडीमा पहिरो खस्दा महाकाली लोकमार्ग अवरुद्ध भएको छ । पहिरो खसेपछि आज बिहानदेखि यातायात सेवा ठप्प भएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए ।

सडक अवरुद्ध हुँदा बिहानैदेखि तराइबाट जिल्ला सदरमुकामका लागी छुटेका तथा जिल्लाबाट बाहिरिने सवारीसाधन बाटोमै थन्किएका छन् । यात्रु बाटोमै अलपत्र परेका महाकाली काउन्टर दार्चुलाका लवराज अवस्थीले जानकारी दिए । सोही ठाउँमा गत माघ दोस्रो साता पनि पहिरो गएको थियो । उक्त ठाउँमा केही समयअघि सडक मर्मत सम्भार गरिएको थियो ।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार १४:०५

लोकप्रिय