तनहुँको भिमाद नगरपालिका–३ स्थित बुढुवाखोलामा शिवरात्रि पर्वमा स्थानीयवासीले सामूहिक रूपमा भेला भएर माछा मार्ने प्रचलनलाई निरन्तरता दिएका छन् । यहाँ वर्षौंदेखि स्थानीयले महाशिवरात्रि पर्वमा सामूहिक रूपमा माछा मार्दै आएका छन् । शिवरात्रिको दिन बिहानदेखि खोलामा माछा मार्नेको भीड लागेको स्थानीयवासी चेतबहादुर मल्लले जानकारी दिए ।
शिवरात्रिमा यस खोलामा माछा मार्ने प्रचलन वर्षौंदेखि चलिआएको र त्यसलाई यहाँका स्थानीयवासीले निरन्तरता दिएको उनले बताए । ‘माछा मार्ने यहाँको प्रचलन नै हो । यसलाई प्रत्येक वर्ष स्थानीयवासीले निरन्तरता दिएका छन् । हामीले थाहा पाएदेखि नै यो चलन रहँदै आएको छ,’ मल्लले भने ।
माछा मार्ने कार्यमा सहभागी भएका वसन्तसिंह ठकुरीले विगतका वर्षमा तीन–चार सय व्यक्ति भेला भई माछा मार्ने गरे पनि यस वर्ष भने करिब दुई सयको सङ्ख्यामा सहभागी भएको जानकारी दिए । उनका अनुसार माछा मार्न बालक, युवादेखि वृद्धसम्म बुढुवाखोला पुगेका थिए । ढडिया, जाल, डोको लगायत सामग्री प्रयोग गरी परम्परागत रूपमा माछा मार्ने प्रचलन रहँदै आएको छ ।
भिमाद नगरपालिका–३ का वडाध्यक्ष पदम ठकुरीले माछा मार्ने प्रचलनले स्थानीयवासीबीच भाइचाराको विकास भएको बताए । उनले भने, ‘यो एउटा चलिआएको चलन मात्र नभई आपसी सद्भाव र भाइचाराको विकास गर्ने माध्यम पनि बनेको छ ।’
विगत वर्षमा स्थानीयले माछा मारेर फुर्लङभरि लैजाने गरे पनि आजभोलि करेन्ट र विषादीको प्रयोगले बुढुवाखोलामा माछा कम पाउन थालेका छन् । शिवालय नजानेहरू शिवरात्रिमा यहाँ माछा मार्न आउने गरेको छन् । यसपटकको महाशिवरात्रिमा घिरिङ गाउँपालिका–४ र ५ तथा भिमाद नगरपालिका–३ का स्थानीय माछा मार्न सहभागी भएका जनाइएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । तनहुँ