सूचनाको शक्ति - The Power Of Information

        

वायुसेवा निगमका तीन वटा विमान एकैपटक ‘ग्राउन्डेड’

नेपाल वायुसेवा निगमले एकै पटक तीन वटा विमान ग्राउन्डेड भएको घटना छानबिन गर्न समिति गठन गरेको छ । निगमले आज विज्ञप्ति निकालेर छानबिन र दोषी पाइएमा कारबाहीको सिफारिस समेत गर्न कार्यकारी अध्यक्ष युवराज अधिकारीले समिति गठन गरेको जानकारी गराएको हो ।

यस्तै निगमले एक हप्तायता नियमित उडानमा गडबडी भएका कारण सयौं यात्रु अलपत्र परेको घटनामा क्षमायाचना गरेको छ । विज्ञप्तिमा यात्रुलाई अरू कम्पनीका विमानबाट समेत गन्तव्यमा पुर्याउने काम भइरहेको र टिकटको व्यवस्था नहुञ्जेल उचित होटलवासको व्यवस्था पनि गरेको उल्लेख छ ।

नेपाल वायुसेवा निगमले अहिले दुई वटा वाइडबडी र दुई वटा न्यारोबडी गरी चार वटा विमानबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ । विभिन्न देशका १० गन्तव्यमा उडान गर्ने निगमका ती चारमध्ये दुवै न्यारोबडी र एउटा वाइडबडी गरी तीन वटा जहाज एक हप्तादेखि ग्राउन्डेड भएका हुन् ।

माघमा फाइभ सी–चेकका लागि चीन पठाइएको सगरमाथा न्यारोबडी विमान भुक्तानी प्रक्रियाका कारण एक हप्तादेखि उतै रोकिएको छ । अर्को लुम्बिनी न्यारोबडी विमानलाई मर्मत गर्न भारत पठाउने तयारी भइरहेको जनाएको छ । काठमाण्डौमा बिग्रिएर थन्किएको निगमको अन्नपूर्ण वाइडबडीका लागि बेलायतबाट स्पेअर पाट्र्स झिकाइएकोले चाँडै उडान शुरू हुने निगमले दाबी गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका कारण उडान कटौती हुँदा हवाई भाडा महँगो र टिकट नपाउने समस्या भएका बेला निगमका जहाज ग्राउन्डेड हुँदा विदेश जाने श्रमिकहरूले धेरै समस्या भोगिरहेका ट्राभल एजेन्सी तथा म्यानपावर व्यवसायीहरू बताउँछन् । गएको कात्तिकदेखि नै नेपालबाट सीधै गन्तव्य देश जाने टिकट नपाइने र पाइए पनि धेरै महँगो हुने भएपछि कैयौं नेपालीहरू भारत हुँदै श्रम गन्तव्यमा गइरहेका उनीहरूको भनाइ छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहीबार १९:०४

लोकप्रिय