कैलालीमा कम उमेरमै सुत्केरी हुने धेरै रहेको देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयले चालु आर्थिक वर्षको माघ मसान्तसम्म ८८१ जना २० वर्षमुनिका सुत्केरी भएको तथ्याङ्क सार्वजनिक गरेको हो । सो कार्यालयका अनुसार सेती प्रादेशिक अस्पतालमा ३०५ सहित अन्य स्वास्थ्य संस्थामा कम उमेरका महिला सुत्केरी भएका हुन् । कम उमेरमा बच्चा जन्माउँदा आमा र नवजात शिशु दुवैको ज्यान जाने जोखिम रहने गर्छ ।
२० वर्ष नपुग्दासम्म महिला प्रजनन स्वास्थ्यका लागि अपरिपक्व हुने गरेकाले हाम्रो मुलुकको कानुनले नै महिलाको विवाहयोग्य उमेर २० वर्ष तोकेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार मोहन्याल गाउँपालिकामा ३५, चुरे गाउँपालिकामा २९, गोदावरी नगरपालिकामा ३२, गौरीगङ्गा नगरपालिकामा ८३ जना महिला कम उमेरमा सुत्केरी भएका छन् ।
यसैगरी घोडाघोडी नगरपालिकामा ८३, बर्दगोरिया गाउँपालिकामा २५, लम्कीचुहा नगरपालिकामा १७, जानकी गाउँपालिकामा १५, जोशीपुर गाउँपालिकामा २१, टीकापुर नगरपालिकामा ९५, भजनी नगरपालिकामा ५९, कैलारी गाउँपालिकामा ३८ जना कम उमेरमा सुत्केरी भएका छन् । सबैभन्दा बढी धनगढी उपमहानगरपालिकामा ३४९ जना २० वर्षमुनिमै सुत्केरी भएको जनाइएको छ ।
महिला कम उमेरमा सुत्केरी हुनेक्रम नरोकिएकाले मातृशिशु मृत्युदर घटाउन चुनौती भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी तेजविक्रम शाहीले बताए । ‘हाम्रो धार्मिक मूल्य, मान्यता, संस्कार लगायत विविध कारणले महिलाले कम उमेरमै विवाह गर्ने र बच्चा जन्माउने गरेको पाइएको छ,’ उनले भने, ‘यसले मातृशिशु मृत्युदर न्यूनीकरणमा समस्या देखिएको छ ।’
शाहीले २० वर्षमुनिमै सुत्केरी हुने कार्यलाई शून्यमा झार्नका लागि सरकारीसहित विभिन्न निकायले अझै मेहनत गर्नुपर्ने आवश्यकता रहेको औँल्याए । यसै गरी सुगम जिल्ला कैलालीमा महिला अझै घरमै सुत्केरी हुने क्रम रोकिएको छैन । १३ वटै पालिमामा बर्थिङ सेन्टर रहे पनि अझै पनि घरमै सुत्केरी हुने गरेको पाइएको हो । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्म ३५ जना महिला घरमै सुत्केरी भएका छन् ।
घरमा सुत्केरी भएमा महिला र नवजात शिशु दुवैलाई विभिन्न जोखिम रहने गरेको छ । चुरे गाउँपालिकामा सबैभन्दा बढी १४, मोहन्याल गाउँपालिकामा छ, गोदावरी नगरपालिकामा दुई, गौरीगङ्गा र घोडाघोडी नगरपालिकामा तीन–तीन, लम्कीचुहा नगरपालिकामा दुई जना घरमै सुत्केरी भएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । यसैगरी प्रदेशको अस्थायी राजधानी धनगढी उपमहानगरपालिकामा पाँच जना घरमा सुत्केरी भएका छन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । कैलाली