सूचनाको शक्ति - The Power Of Information

        

वन्यजन्तुका कारण बाँके निकुञ्ज आसपासको खेतीयोग्य जमिन बाँझै

‘लगाएको बाली भित्र्याउन पाउँदैनौं, राहतका नाममा कनिका छरिन्छ,’ राप्तीसोनारी गाउँपालिका–१, कुसुमका भविन्द्र खड्काले गुनासो गर्दै भने, ‘बाँके राष्ट्रिय निकुञ्ज स्थापना भएपछि खुबै सास्ती पाएका छौं ।’ बर्षौंदेखि लगाउँदै आएको अन्नवाली बाँके राष्ट्रिय निकुञ्जबाट आउने जनावरले खाइदिँदा कुसुमका स्थानीयहरु सोचे अनुसार अन्नबाली भित्र्याउन पाउँदैनन् ।

‘हामीले लगाएको बाली जंगली जनावरले नष्ट गरिदिन्छ,’ खड्काले भने, ‘हुने खानेलाई त केही फरक नपर्ला, हुँदा खानेहरु भोकभोकै मर्ने अवस्था छ ।’ जंगली जनावरले नष्ट गर्न थालेपछि कुसुमका स्थानीयबासीहरु जमिन बाँझै राख्न बाध्य छन् । ‘सयौं विगाहा खेतीयोग्य जमिन बाँझै राखेका छौं,’ कुसुमकै विजय वलीले भने, ‘लगाएर के गर्नु ? फल्न नपाउँदै जंगली जनावरले सखाप पारिदिन्छन् ।’

निकुञ्ज कार्यालयले तारवार नगरिदिँदा खेतीयोग्य जमिन बाँझो भएको उनको भनाई छ । निकुञ्जले तारवार नगर्दा त्यस क्षेत्रका कृषकहरु पीडित हुँदै आएका छन् । निकुञ्जबाट रातमा आउने बँदेल, चित्तल, खरायो, बाँदर, हात्तीजस्ता जनावरले बालीनाली सखाप पार्ने गरेको स्थानीय रामबहादुर कुमालको गुनासो छ । ‘जंगली जनावरका कारण यो सिजनको धानबाली खेतमै सकियो,’ उनले भने, ‘निकुञ्जले क्षतिपूर्ति समेत दिँदैन, के खाएर बाँच्ने ?’

बर्षेनि मेहनत गरेर लगाएको बाली भित्र्याउन नपाउँदै जनावरले खाइदिएपछि किसानहरु खेतीयोग्य जमिन बाँझै राखेर गौचरण बनाउन बाध्य भएको स्थानीय दोर्णबहादुर खड्काको भनाई छ । उनले भने, ‘जंगली जनावरकै कारण खेतीयोग्य जमिनमा उत्पादन हुँदैन । साँझ विहानको छाक टार्नै मुस्किल भएको छ ।’ बाँकेको रत्न राजमार्गदेखि पश्चिम बर्दिया निकुञ्ज र पूर्वमा बाँके निकुञ्जका जनावरले बर्षेनी खेतीबाली, तरकारीबाली नष्ट गर्दै आएका छन् ।

‘पैसा हुनेले खेतबारी क्षेत्रमा तारबार लगाएर जोगाउँदै आए पनि पैसा नहुनेका लागि अन्नवाली जनावरका लागि लगाएको जस्तो भएको छ,’ स्थानीय कमलराज कार्कीले भने । निकुञ्जले वर्षेनी तारवारका लागि थोरै रकम विनियोजन गरे पनि त्यो प्रभावकारी नभएको स्थानीय लेखराज वलीको भनाई छ । ‘खेती गरेर खाउँला भन्ने आशै छैन,’ वलीले भने, ‘निकुञ्जले पूर्णरुपमा तारबार नगरेसम्म समस्याको समाधान हुनेमा आशा पनि छैन ।’

अन्न तथा तरकारी खेती गर्दै आएका किसानहरुले वन्यजन्तुले बाली खाएर सखाप पार्न थालेपछि कृषि पेशा नै छाड्नुपर्ने अवस्था आएको वलीले बताए । ‘जग्गा बाझो नराख्न मकै लगाएको छु, वन्यजन्तुबाट जोगाउन दिनरात कुरेर बस्नुपर्छ,’ उनले भजे, ‘वन्यजन्तुकै समस्याले अन्नबाली र तरकारी खेती गर्न छाडेका छौं ।’ वन्यजन्तुका कारण जोगाउन कठिन हुँदा बारीमा कोसेबाली लगाउनै छाडेको उनको भनाइ छ ।

निकुञ्जका कारण मध्यवर्ती क्षेत्रका किसानहरुले कृषियोग्य जमिन बाँझै राख्दै आएका छन् । खेतीबाहेक निकुञ्जका जनावरले गोठमै पसेर घरपालुवा जनावर मारेर खान थालेपछि किसानले पशुपालन पनि गर्न छोडेका छन् । निकुञ्जले खेतवालीमा जंगली जनावरले क्षति पुर्याएवापत अधिकतम रु.१० हजारसम्म दिने गरेको छ । जंगली जनावरले घरपालुवा जनावरलाई पु¥याएको क्षतिको हकमा भने निकुञ्जले अधिकतम रु.३० हजारसम्म दिने गरेको छ ।

‘हामीले निकुञ्जका मध्यवर्ती क्षेत्रमा जंगली जनावरबाट भएको क्षतिको विवरण संकलन गरिरहेका छौं । सबै विवरण तयार गरी हामी छिट्टै राहत उपलब्ध गराउँछौं,’ बाँके राष्ट्रिय निकुञ्जका बरिष्ठ संरक्षण अधिकृत बीरेन्द्र प्रसाद कँडेल भने । निकुञ्जका अनुसार हालसम्म मध्यवर्ती क्षेत्रमा करिब ८० किलोमिटर तारबार गरिएको बताउँदे बरिष्ठ संरक्षण अधिकृत कँडेलले भने, ‘हरेक आर्थिक बर्षमा बढी प्रभावित क्षेत्रमा तारबार लगाउने काम गरिरहेका छौं ।’

निकुञ्जका अनुसार प्रभावित क्षेत्रका नागरिकहरुको निविकोपार्जनका लागि वैकल्पिक खेतीका लागि प्रोत्साहन गरिरहेको उनको भनाई छ । उनले भने, ‘निकुञ्जले जडिबुटी, तरकारी, मेन्था, केमोमाइल, कागती खेतीजस्ता बाली लगाउन किसानहरुलाई प्रोत्साहन गरिरहेका छौं ।’ यी बाली जनावरलाई मन नपर्ने र जिविकोपार्जनमा समेत सुधार हुने भएकाले वैकल्पिक खेतीका लागि प्रोत्साहन गरिरहेको बरिष्ठ संरक्षण अधिकृत कँडेलले बताए ।

जंगली जनावरबाट घरपालुवा जनावर जोगाउन निकुञ्जले प्रभावित क्षेत्रका पशुपालक किसानहरुलाई सुधारिएको गोठ बनाउनका लागि सहयोगसमेत गर्दै आएको छ । वन्यजन्तु बढ्दै जाँदा वनमा आवश्यक पर्ने आहाराको कमी भएपछि नजिकको बस्तीमा प्रवेश गरी वनस्पतिदेखि खाद्यान्न बालीमा नोक्सानी पुर्याउने गरेका छन् । वन्यजन्तुका डरले किसानले विस्तारै खेती गर्न छाड्दै गएका छन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहीबार ०९:४६

लोकप्रिय