बाँकेको खजुरा गाउँपालिका–७ स्थित बर्गदही गाउँनजिकै नेपाल सरकारको नाममा रहेको ऐलानी पर्ती जग्गाको माटो जथाभाबी निकालेर बिक्री भइरहेको छ । माटो निकालेर गहिरो खाल्डो बनेपछि स्थानीय बासिन्दाले संलग्नलाई कारबाही गरी तत्काल माटो निकाल्ने कार्य रोकिदिन माग गर्दै जिल्ला प्रशासन कार्यालय बाँके र जिल्ला प्रहरी कार्यालय बाँकेको ध्यानाकर्षण गराएका छन् ।
पूर्व वडाध्यक्ष अतिउल्ला खाँले नेपालगन्ज–गुलरिया चार लेन सडक निर्माणको समयमा समेत माटो नझिकिएको सो स्थानमा जथाभाबी माटो निकाल्दा वर्षायाममा डुबानको जोखिम बढेको बताए । दैनिक दुई वटा एक्साभेटर र १५–१५ वटा टिप्परको प्रयोग गरी सरकारी जग्गाको माटो निकाली नजिकै निर्माण भइरहेको बिस्कुट उद्योगमा प्रयोग गरिएको स्थानीय बासिन्दाले जनाएका छन् ।
यसैबीच स्थानीयले सरकारी ऐलानी जग्गाको माटो निकाल्ने कार्य तत्काल बन्द गरी संलग्नलाई कारबाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगन्जमा उजुरी दिएका छन् । उजुरीमा सरकारी जग्गाको माटो बिक्री वितरण गर्ने कार्यमा वडाध्यक्ष रामगोपाल यादव, इँटाभट्टा सञ्चालक नरेश यादव, असलम भाटसहित सात जनाको संलग्नता रहेकाले उनीहरूमाथि अनुसन्धान गरी कारबाही गर्न माग गरिएको छ ।
खजुरा गाउँपालिका–७ का वडाध्यक्ष रामगोपाल यादवले केही भूमाफियाको संलग्नतामा सरकारी जग्गाको माटो जथाभाबी निकालिएको स्वीकार गर्दै पालिका अध्यक्ष, उपाध्यक्षसहितको टोलीले स्थलगत निरीक्षण गरी माटो निकाल्ने कार्य बन्द गराएको बताए । वडाध्यक्ष यादवले भने, ‘एक–दुई जनाले नियम अनुसार सिफारिस लिएर माटो निकालिरहँदा अन्य भूमाफिया मिसिएर जथाभाबी माटो निकालेका हुन्, अहिले सो काम पूर्ण रूपमा रोकिएको छ ।’ वडाध्यक्ष यादवले आफूहरू सरकारी सम्पत्तिको संरक्षणका लागि क्रियाशील रहेको भन्दै जथाभाबी माटो निकाल्ने कार्यमा संलग्नता नरहेको दाबी गरे ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके