सूचनाको शक्ति - The Power Of Information

        

भारतीय आयातित केराले नेपालमा उत्पादित केराको बजार प्रभावित

भारतीय केराको आयातले चितवनमा उत्पादित केराको बजारलाई प्रभावित बनाएको छ । भारतबाट वैध र अवैध दुवैरुपमा भित्रिएको केराले बजार प्रभावित बनाएको हो । चितवन केरा उत्पादक सङ्घका अध्यक्ष माधव घिमिरेका अनुसार अहिले यहाँको केरा बजारीकरणका लागि तयारी अवस्थामा छन् ।

बजारमा भारतीय केराले स्थान पाउँदा यहाँको उत्पादनले सहजै बजार पाउन कठिन भएको उनले बताए । भारतमा ठूला र चिल्ला केरा उत्पादन हुने हुँदा यहाँका केराको तुलनामा भारतीय केरामा ग्राहकको आँखा पर्ने गर्दछ । नेपालको बजारमा ४० प्रतिशत केरा भारतबाट आउने गर्दछ ।

थोरै केरा मात्र भन्सार तिरेर आउने गरेको भए पनि धेरै अवैधरूपमा भित्रने अध्यक्ष घिमिरेको दाबी छ । उनले भने, ‘कृषिको अरू उत्पादन सहज आउन रोक्दा केरालाई सरकारले रोक्दैन ।’ केरा आयातमा रोक लगाइएमा नेपालमा आत्मनिर्भर हुनसक्ने गरी उत्पादन गर्न सकिने उहाँको भनाइ छ ।

देशकै सबैभन्दा बढी केरा उत्पादन हुने चितवनमा तीन हजार २०० हेक्टर हाराहारीमा केरा खेती हुँदै आएको छ । यहाँका ७०० बढी किसान केराखेतीमा संलग्न छन् । हरियो केरा, चिनी चम्पा, माल्भोग जातका केरा व्यवसायिकरूपमा लगाइएको छ । चैतदेखि साउनसम्मलाई किसानले केरा उत्पादनको मुख्य सिजनको रूपमा लिने गर्दछन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहीबार ०८:११

लोकप्रिय