सूचनाको शक्ति - The Power Of Information

        

संरक्षण अभावमा कान्तिताल आसपासका पूर्वाधार जीर्ण

संरक्षण अभावमा नेपालगन्ज उपमहानगरपालिका–२२ पुरैनीस्थित कान्ति ताल आसपासमा निर्मित पूर्वाधार जीर्ण बन्दै गएका छन् । नेपालगन्ज उपमहानगरपालिकाले करोडौँ खर्च गरेर निर्माण गरेको रेलिङ भत्किएका छन् । फलामका पाइप चोरी भएको स्थानीय चक्र बुढाले बताए ।

‘तालमा वरिपरि बनाएका संरचना तोडफोड भएका छन्,’ उनले भने, ‘सुरक्षाका लागि सरोकारवाला निकायलाई पटक पटक खबर गरे पनि सुनुवाइ भएको छैन ।’ करिब एक हजार ८०० मिटर रेलिङमध्ये ३०० मिटर रेलिङ तोडफोड गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाले २०७५ सालमा कान्ति ताललाई व्यवस्थित गरेर पर्यटकीयस्थलका रूपमा विकास गर्ने योजना अघि बढाएको थियो ।

ताल वरिपरि पर्खाल लगाउने, रेलिङ राख्ने र ताललाई परिक्रमा गर्ने फुटपाथ र नालीसहितको सडक निर्माण गरिएको छ । ताल सञ्चालनका लागि वार्षिक रु. २८ लाख नेपालगन्ज उपमहानगरपालिकालाई राजस्व बुझाउने गरी ठेक्का लिएका ठेकेदार फनबहादुर गुरुङले लागुऔषध प्रयोगकर्ताहरूले रेलिङ तोडफोड गरेको हुन सक्ने बताए ।

तालका संरचनाको सुरक्षा जिम्मा पनि ठेकेदार पक्षकै रहेको छ । त्यसका लागि ठेकेदार पक्षले एक जना चौकीदार खटाएको छ । नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले रातको समयमा लागुऔषध दुर्व्यसनीहरूले तालको संरचना तोडफोड र चोरी गरेको हुनसक्ने अनुमान गरिएको बताए । उनले त्यस्ता गतिविधि रोक्ने विषयमा ठेकेदार पक्षलाई सचेत गराइएको जानकारी दिए ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलवार २०:३४

लोकप्रिय