सूचनाको शक्ति - The Power Of Information

        

९६ वर्षमा नागरिकता, अझै बारीमा काम गर्ने जाँगर

वडाभरिकै पाको, मान्छे । वृद्धावस्थामा पनि माटोसँगको सामिप्यता छ, ९६ वर्षीया तुलसीदेवी जोशीको । बझाङको खप्तडछान्ना गाउँपालिका–५ पिठातोलाकी जोशीलाई अहिले पनि बारीमै भेटिन्छिन् । यो उनको बाध्यता भने होइन, बाल्यकालदेखिको खेती गर्ने बानीले नछाडेको मात्र हो ।

‘घरभित्रै बसिरहन मन मान्दैन,’ उनले भनिन्, ‘बारीमा के–कस्तो उम्रियो, पानी पुग्यो कि पुगेन, गोडमेल पुग्यो कि पुगेन भन्ने मनमा खेल्छ । त्यसपछि कुटो बोकेर गइहाल्छु ।’ थाहा भएदेखि कृषिमा जीवन समर्पित गर्नुभएकी जोशी अहिले पनि गाउँमा अगुवा कृषकको रूपमा चिनिन्छन् ।

‘गाउँमा दलहन, धानबाली, तरकारी गाउँमा हुने सबै किसिमको तथा बीउ कतै नपाए गाउँले अझै म कहाँ आउँछन्,’ तुलसीले भनिन् । तर, यो उमेर वितिसक्दा पनि उनलाई नागरिकता लगायतका सरकारी कागजातको आवश्यकताबारे ज्ञान थिएन ।

उनलाई गएको शनिबार जिल्ला प्रशासन कार्यालयले घरमै गएर नागरिकता प्रदान गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले सबै कागजात तयार गरी उनको घरमै पुगेर नागरिकता प्रदान गरे ।

थलारा गाउँपालिका–७ घोडादाउनामा विक्रम संवत १९८६ साल साउन ११ गते जन्मिएकी जोशीलाई नागरिकता प्रदान गर्दै सहायक प्रमुख जिल्ला अधिकारीले अनागरिक भएर जीवन विताइरहेको अवस्थामा भेट भएको बताए ।

जोशीले १०० वर्षको हाराहारीमा पनि नागरिकता नपाएको भन्ने सुन्ने वित्तिकै कागजात बनाउन अनुरोध गरेको र कागजात तयार हुनासाथ नागरिकता उपलब्ध गराएको बताए । बुवा जयलाल उपाध्याय र आमा हरिनादेवी उपाध्यायको कोखबाट जन्मिएकी जोशीको विक्रम संवत १९९४ मा ८ वर्षको उमेरमा खप्तडछान्ना गाउँपालिका–५ का पदमराज जोशीसँग विहे भएको थियो ।

विहे भएको ५७ वर्ष अर्थात् २०५१ सालमै पदमराजले संसार छोडेपछि उनी एकल भईन् । सदरमुकाम चैनपुरबाट चार घण्टाको दुरीमा पर्ने पिठातोला र त्यो ठाउँबाट देखिने भू–भाग नै तुलसीका लागि संसार भयो ।

‘मेरा लागि त यही संसार हो,’ तुलसीले भनिन्, ‘माइतीगाउँ जाने बिप्रा डाँडा र छिमेकी जिल्ला बाजुरा जाने थामलेकबाहेक अन्त देखेको छैन । यही संसार आँखी झ्यालबाट हेरिरहन्छु । त्यो पनि पुरै घुमेको छैन ।’

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार ११:५६

लोकप्रिय