सूचनाको शक्ति - The Power Of Information

        

९१ वर्षमा संसार देख्न पाएपछि…

सर्लाहीको हरिवन नगरपालिका–८ का ९१ वर्षीय नरबहादुर खड्का आँखाको ज्योति फर्किएपछि मक्ख छन् । नेपाल नेत्र ज्योति सङ्घले निःशुल्क सञ्चालन गरेको शिविरमा आँखाको शल्यक्रियापछि उनले फेरि संसार देख्न पाएका हुन् ।

लामो समयदेखि मोतियाविन्दुको समस्याबाट पीडित उनले शल्यक्रिया गरेपछि स्पष्ट देखिएको बताए । आँखा नदेख्दाको पीडा शब्दमा वर्णन नहुने र अन्धकारबाट पुनः उज्यालोमा फर्कदाको खुशी पनि शब्दमा व्यक्त नहुने उनले सुनाए ।

ज्येष्ठ नागरिक खड्काजस्तै हरिवन नगरपालिका–३ निवासी रामविलास महतोले पनि ९१ वर्षको उमेरमा आँखाको ज्योति पाएका छन् । आँखाको शल्यक्रिया पछि बिहीबार पट्टी खोलेका उनले हर्षविभोर हुँदै गहँभरि आँसु पारेर भने, ‘यो उमेरमा फेरि आँखा देख्न पाइयो भेटिएजस्तै भएको छ ।’

विपन्न परिवारका उनले खर्च अभावमा उपचार गराउन नसकेको दुखेसो गरे । शिविरमा ९० वर्षका अर्का वृद्ध गणेशमान घिसिङको पनि मोतियाविन्दुको सफल शल्यक्रिया गरिएको थियो । शिविरमा १७५ जनाको आँखाको मोतियाविन्दुको शल्यक्रिया गरी आँखाको ज्योति फर्काइएको आँखा उपचार केन्द्रले जनाएको छ ।

मोतियाविन्दुको पहिचानको लागि हरिवन र बरहथवा नगरपालिकामा गरी पाँच स्थानमा परीक्षण शिविर सञ्चालन गरिएको थियो । शिविरमा एक हजार ३७ जनाले स्वास्थ्य सेवा लिएका नेत्र ज्योति सङ्घले जनाएको छ । शिविरमा २७० जना मोतियाविन्दुका बिरामी फेला परेका थिए । शिविरमा आएकामध्ये १५० जनालाई निःशुल्क चस्मासमेत वितरण गरिएको थियो ।

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार ११:०५

लोकप्रिय