भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयमा मृत्यु भएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको गृहजिल्ला रुपन्देही ल्याएर अन्त्येष्टि गरिएको छ । उनको शव गएराति रुपन्देहीको सिद्धार्थननगर नगरपालिका ८ स्थित बैंकरोड कोलोनीमा ल्याइएको थियो ।
त्यसपछि स्वर्गद्वारी घाटमा लगेर अन्त्येष्टि गरिसक्दा आज विहीबार बिहान चार बजेको थियो । रुपन्देही प्रहरीका सूचना अधिकारी डीएसपी सुरज कार्कीले भने, ‘आज बिहान करिब चार बजे अन्त्येष्टि सकियो । अहिले यहाँको स्थिति नर्मल छ ।’ डीएसपी कार्कीका अनुसार प्रकृतिको शव ओडिसाबाट गोरखपुरसम्म हवाईजहाजमा र गोरखपुरबाट घरसम्म गाडीमा ल्याइएको थियो ।
ओडिसाको राजधानी भुवनेश्वरस्थित केआइआइटी विश्वविद्यालयको कलेजमा बी–टेक अध्ययन गरिरहेकी प्रकृति गत आइतबार होस्टलको कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । सोही कलेजमा अध्ययनरत भारतकै विद्यार्थी अड्विक श्रीवास्तवले दिने गरेको मानसिक यातनामा कजेल प्रशासन मौन रहनु प्रकृतिको मृत्युको कारण भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
प्रकृतिका आफन्त सिद्धान्त सिग्देलले कलेज प्रशासनलाई अड्विक श्रीवास्तवले पटकपटक दिइरहेको मानसिक यातनाबारे प्रमाणसहित दुई पटक उजुरी दिँदा पनि कुनै सुनुवाइ नभएको बताएका थिए । प्रकृति मृत अवस्थामा भेटिएपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरुले न्यायको माग गर्दै प्रदर्शन गरेका थिए ।
भारतको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी)मा शंकास्पद रूपमा ज्यान गुमाएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको पार्थिव शरीर गोरखपुर हुँदै राति ९ बजे भैरहवा आइपुगेको थियो । तर, उनका अभिभावक अर्को उडानबाट ढिलो गरी आउनुपर्ने भएपछि शवलाई युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा राखिएको थियो ।
राति ११ बजे शवलाई उनको निवास, सिद्धार्थनगर–८ पुर्याइयो, जहाँ परिवारजन, आफन्त, छिमेकी तथा शुभचिन्तकहरूले अन्तिम श्रद्धाञ्जली अर्पण गरे । त्यसपछि राति नै शवयात्रा निकालेर स्वर्गद्वारी घाटमा अन्त्येष्टि गरिएको हो । प्रकृतिलाई उनका हजुरबुवा देवनाथ लम्सालले दागबत्ती दिएका छन् । प्रकृतिको अन्त्येष्टिमा स्थानीय सर्वसाधारणको ठूलो उपस्थिति रहेको थियो ।
भारतको केआइआइटी विश्वविद्यालयमा अध्ययनरत उनका साथीहरू समेत श्रद्धाञ्जली दिन भैरहवा आएका थिए । २०६१ असार ४ गते जन्मिएकी प्रकृति लम्साल यही आइतबार भारतको केआईआईटी छात्रावासमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । उनको मृत्यु शंकास्पद मानिएको छ र यसबारे भारतीय प्रहरीले अनुसन्धान गर्दै एक जनालाई हिरासतमा लिएको छ । घटनाले नेपाली विद्यार्थीको सुरक्षासम्बन्धी चासो पुनः उठाएको छ भने न्यायको माग गर्दै सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको छ ।
त्यसपछि कलेज प्रशासनले नेपाली विद्यार्थीहरुमाथि कुटपिट र दुव्र्यवहार गर्दै घर फर्किन भनेको थियो । तर नेपाल सरकारको कूटनीतिक पहलपछि विश्वविद्यालय प्रशासनले माफी माग्दै नेपाली विद्यार्थीहरुलाई फर्किएर पढाइ जारी राख्न भनेको थियो । उसले नेपाली विद्यार्थीहरुलाई लक्षित गरी हेल्पडेस्क समेत स्थापना गरेको छ । तर नेपाल आइपुगेका कतिपय नेपाली विद्यार्थीहरुले असुरक्षित महसुस गरेको बताएका छन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । रुपन्देही