२०८२ मंसिर २६ , शुक्रबार 12, December 2025, Friday

कार्यसम्पादन मूल्यांकनमा राप्तीसोनारी पहिलो, कोहलपुर सबैभन्दा कमजोर

सत्यपाटीसत्यपाटी । बाँके । २०८१ फागुन ५ गते सोमबार

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकनमा बाँके जिल्लामा राप्तीसोनारी गाउँपालिकाले पहिलो स्थान हासिल गर्न सफल भएको छ । जिल्लाका आठ स्थानीय तहमध्ये राप्तीसोनारीले सर्वाधिक अंक प्राप्त गरी उत्कृष्ट स्थान हासिल गरेको हो ।

आयोगका अनुसार, मूल्यांकनमा राप्तीसोनारी गाउँपालिकाले सबैभन्दा बढी ६० अंक हासिल गरेको छ । त्यस्तै, मूल्यांकनमा दोस्रो भएको स्थानीय तह बैजनाथ गाउँपालिकाले ५९.३ अंक, खजुरा गाउँपालिकाले ५८ अंक, डुडुवा गाउँपालिकाले ५१.५ अंक, नरैनापुर गाउँपालिकाले ४८.७ अंक, नेपालगन्ज नगरपालिकाले ४६.९ अंक, जानकी गाउँपालिकाले ४३.६ अंक र कोहलपुर नगरपालिकाले ३५.२ अंक प्राप्त गरेका छन् ।

राप्तीसोनारी गाउँपालिकाका सूचना प्रविधि अधिकृत जनार्दन पौडेलका अनुसार नेपाल सरकारले प्रदान गर्ने चार विधाको मूल्यांकनमध्ये लिजा, फ्रा, लिड र वित्त आयोगबाट हुने मूल्यांकनमा राप्तीसोनारीले जिल्लामा पहिलो स्थान हासिल गरेको हो । गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले जिल्लामा पहिलो स्थान हासिल गर्नु गौरवको कुरा भएको जनाए ।

उनले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकनमा राप्तीसोनारी जिल्लामै प्रथम भएकोमा गर्व महसुस भएको बताए । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकनमा बाँकेको कोहलपुर नगरपालिकाले भने सबैभन्दा कम अंक प्राप्त गरेको छ । प्राप्त अंक चित्त नबुझे सात दिनभित्र आवश्यक आधार र प्रमाणसहित पुनरावलोकनका लागि उजुरी दिन सकिने आयोगले जनाएको छ ।

प्रकाशित मिति : २०८१ फागुन ५ गते सोमबार