२०८२ माघ २५ , आइतबार 9, February 2026, Monday

सिँचाइले हराभरा बन्दै सुक्खा जमिन

सत्यपाटीसत्यपाटी । दाङ । २०८१ फागुन ३ गते शनिबार

लामो समयदेखि पानी नपर्दा हिउँदमा जमिन सुक्खा हुने र लगाएको बाली सुक्ने समयमा दाङको घोराही उपमहानगरपालिका–६ का खेतबारी हरियाली छन् । उपमहानगरको सहयोगमा वडाका प्रत्येक गाउँलाई समेट्ने गरी वडा कार्यालयले बोरिङ र ‘स्यालो ट्युबवेल’ निर्माण गरेपछि यहाँका खेतबारी हरियाली भएका हुन् ।

हिउँदमा सुक्खा हुने जमिन हराभरा भएर नागरिकको आम्दानीसमेत वृद्धि भएको छ । घोराही–६ का श्रीधर अधिकारीले धान काटेको खेतमा तोरी छरेका छन् । उनको खेतमा आकाशे पानीको भरमा खेती हुने गरेको थियो । गत वर्षदेखि उहाँँले बोरिङको पानीले सिँचाइ गरेर खेती गर्न थालेका छन् ।

उनले भने, ‘धान काटेपछि खेत बाँझो हुने गर्दथ्यो, सिँचाइ सुविधा थिएन, तोरी किनेर खानुपर्ने बाध्यता थियो, तर अहिले १० पाथी तोरी बिक्री गर्न पाइयो, बाह्रै महिना खेती हुने गरेको छ ।’ पानीको सुविधा भएपछि तोरी, मकै र तरकारीखेती गरेर बाह्रै महिना हरियाली हुने गरेको उनले बताए ।

‘बोरिङको उपभोक्ता समिति बनाएका छौँ, एक घण्टाको रु २०० तिरेर सिँचाइ गर्ने गरेका छौँ,’ उनले भने । घोराही–६ गुरगैका प्रेम चौधरीले १० कट्ठा खेतमा काउली, बन्दा र प्याजखेती गरेका छन् । खेतीपातीबाटै उनले वार्षिक रु सात लाख आम्दानी गर्ने गरेको बताए । तरकारी, आलु, प्याज लगायत बिक्री गर्ने गरेको उनको भनाइ छ ।

उनले भने, ‘सिँचाइको समस्या छैन, तीन वर्षअघिसम्म खानेपानीकोसमेत समस्या हुने गरेको थियो, वडा कार्यालयले प्रत्येक टोलमा बोरिङको व्यवस्था गरेपछि खेतबारीमा सिँचाइ गरेको पानीले खानेपानीको मुहान पनि ‘चार्ज’ भएर इनार तथा कुवामा पनि प्रशस्त पानी हुने गरेको छ ।’

घोराही–६ का वडाध्यक्ष विष्णुराम आचार्यले सिँचाइका लागि वडा भरमा १० बोरिङ र चार स्यालो ट्युबवेल सञ्चालनमा आएको बताए । उनका अनुसार एउटा बोरिङले ३० बिघा जमिन सिँचाइ गर्ने गरेको र स्यालो ट्युबवेलले चार बिघा जमिनमा सिँचाइ हुने गरेको छ ।

खेतीपाती गर्ने किसानलाई आत्मनिर्भर गराउन र बाँझो जमिन नराख्ने उद्देश्यले काम गरेको उनले बताए । ‘वडा नं ६ को चार सय बिघा जमिनलाई सिँचाइ सुविधा पुगेको छ’, उनले भने, ‘केही पानीका योजना सम्पन्न हुने क्रममा छन्, ती सम्पन्न भएपछि वडाका सबै जमिनमा सिँचाइ सुविधा पुग्नेछ ।’

प्रकाशित मिति : २०८१ फागुन ३ गते शनिबार