२०८२ माघ ४ , आइतबार 18, January 2026, Sunday

३० किलोको खुकुरी, दाम कति ?

सत्यपाटीसत्यपाटी । पाल्पा । २०८१ माघ २७ गते आइतबार

एउटै खुकुरीको मूल्य १ लाख ११ हजार रुपैयाँ भन्दा पत्यार नलाग्न पनि सक्छ । यो सुन्दा आश्चर्य लाग्छ । सन्तोष विश्वकर्माले ३० किलो तौल भएको १ लाख ११ हजार १११ मूल्य पर्ने खुकुरी तयार पारेका छन् । उनले तयार पारेको खुकुरी रामपुरमा जारी चौथो रामपुर महोत्सव तथा व्यापार मेलामा प्रदर्शनीमा राखिएको छ ।

खुकुरी यतिबेला मेलाको मुख्य आकर्षण बनिरहेको छ । नेपालीको शानका रूपमा लिइने खुकुरीको महत्त्व जोगाइराख्न र नयाँ पुस्तालाई जानकारी दिन ३० किलो तौल भएको खुकुरी तयार पारेको विश्वकर्माले बताए । उनले तयार पारेको ३० किलो खुकुरी आठ फिट लम्बाइ छ भने दापसहित ४२ किलोको छ ।

तीन जना व्यक्तिको सहायता लिएर २० दिनमा खुकुरी तयार पारेको विश्वकर्मा बताउँछन् । खुकुरी निर्माणमा ज्याला खर्चबाहेक रू ३० हजार बराबरको खर्च भएको उनले बताए । विश्वकर्माले प्रदर्शनीमा राखेको खुकरीले दर्शकको मन जितिरहेको छ । मेला अवलोकन गर्न आउने दर्शकले रोचक मान्दै खुकुरी अवलोकन गर्ने, फोटो, भिडिओ खिच्ने तथा टिकटक बनाएर सामाजिक सञ्जालमा राख्न थालेपछि धेरै चर्चा बटुलेको छ ।

विश्वकर्माले खुकुरीका अलावा कृषि तथा घरायसी प्रयोजनका लागि आवश्यक फलामका औजार पनि बिक्रीमा राखेका छन् । ‘नेपालीको शान खुकुरी हो, यसको महत्त्व नयाँ पुस्तालाई जानकारी दिन स्थानीयस्तरमा हुने मेला, महोत्सवमा प्रदर्शनीका लागि लैजाने गरेको छु, खुकुरीसँगै अन्य कृषि तथा घरायसी प्रयोजनका लागि आवश्यक पर्ने औजार प्रदर्शनीमा राख्दै आइरहेको छु,’ उनले भने ।

स्याङ्जाको वालिङ नगरपालिका–८ स्थित विश्वकर्मा आरन उद्योगका सञ्चालक विश्वकर्माले घर सजावटका लागि खुकुरी खोजिने भएकाले आफूले तयार पार्ने गरेको बताए । यसभन्दा अगाडि १३ केजी तौल भएको ४५ हजार र २० केजी तौलको खुकुरी ५५ हजार रुपैयाँमा बिक्री गरिसकेको जानकारी दिए । रामपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा गत माघ १५ देखि जारी चौथो रामपुर महोत्सव तथा व्यापार मेला २७ गतेसम्म चल्नेछ । मेलामा स्थानीय उत्पादनमा दर्शकको आकर्षण बढिरहेको छ ।

प्रकाशित मिति : २०८१ माघ २७ गते आइतबार