सूचनाको शक्ति - The Power Of Information

        

बर्दियामा बाघ हेर्न आउने पर्यटकको संख्या बढ्यो

पश्चिम नेपालमा सबैभन्दा बढी बाघ रहेको निकुञ्ज बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ लगायतका गैंडा, हात्ती र अन्य वन्यजन्तु हेर्न आउने पर्यटकको संख्या बढेको छ । अघिल्लो आर्थिक वर्ष २०७९–०८० को तुलनामा गत आर्थिक वर्ष २०८०–०८१ मा त्यहाँ आउने पर्यटकको संख्यामा ११ प्रतिशतले वृद्धि भएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ ।

निकुञ्जका अनुसार बाघ अवलोकनका लागि प्रख्यात मानिने निकुञ्जमा अघिल्लो आर्थिक वर्ष २०७९–०८० को भन्दा गत आर्थिक वर्ष २०८०–०८१ मा एक हजार ८०७ जना पर्यटक बढी आएका थिए । निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा.अशोककुमार रामका अनुसार निकुञ्जमा अघिल्लो आर्थिक बर्ष २०७९–०८० मा १६ हजार ७२२ नेपाली, ६ हजार ३८३ विदेशी र एक हजार २१९ सार्क मुलुकका नागरिकले निकुञ्ज भ्रमण गरेका थिए ।

गत आर्थिक बर्ष २०८०–०८१ मा १८ हजार १० जना नेपाली, छ हजार ६८४ जना विदेशी र एक हजार ४३७ जना सार्क मुलुकका गरी २६ हजार १३१ जना पर्यटकहरू निकुञ्ज घुम्न आएका थिए । निकुञ्जमा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा नेपाली, विदेशी र सार्क मुलुकका पर्यटकहरूको संख्यामा उल्लेख्य वृद्धि भएको थियो । बर्दिया राष्ट्रिय निकुञ्जमा सबैभन्दा बढी राजस्व संकलन पर्यापर्यटनबाट हुने गरेको तथ्यांकले पुष्टि गरेको छ ।

गत आर्थिक वर्ष २०८०–८१ मा सबैभन्दा बढी दुई करोड ८४ लाख चार हजार ५०० रुपैयाँ पर्यापर्यटनबाट संकलन भएको निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा.रामले बताए । गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा पनि पर्यटकहरूको संख्यामा वृद्धि हुने देखिएको बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । गत वर्षहरूको तुलनामा पर्यटकहरू र उनीहरूबाट संकलन हुने राजस्व दुबैमा वृद्धि भएको पाइएको छ ।

नेपालीहरू पनि पर्यटकीय क्षेत्र घुम्नका लागि आउने क्रम बढेको छ । सहजै बाघ हेर्न सकिने भएको हुनाले पर्यटकहरू बर्दिया राष्ट्रिय निकुञ्ज आउने गरेको जनाइएको छ । क्रमशः पर्यटकहरूको वृद्धि हुन थालेसँगै बर्दियाका पर्यटन व्यवसायीहरू पनि उत्साहित भएका छन् । कोरोनापछि सुस्ताएको पर्यटन व्यवसाय पुनः तँग्रिदै गएको पर्यटन व्यवसायी मोहन चौधरीले बताए । निकुञ्ज घुम्न आएका पर्यटकहरूमध्ये अधिकांशले प्राकृतिक रूपमै बाघ हेरेर फर्कने गरेको उनको भनाइ छ ।

बाघ लगायत जंगली हात्ती, गैँडा, चितुवा, चित्तल, बाह्रसिङ्गा लगायतका जंगली जनावर सहजै र एकै दिनमा हेर्न सकिने भएको हुनाले पनि बर्दिया राष्ट्रिय निकुञ्ज स्वदेशी र विदेशी पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । सो निकुञ्जमा १२५ वटा बाघ छन् । पाटेबाघ, एकसिंगे गैंडा, चितुवा, घोडगधा, जरायो, चित्तल, लगुना, बाह्रसिंगा र जंगली हात्ती लगायतका ६१ प्रजातिका स्तनधारी वन्यजन्तु, ४२ भन्दा बढी प्रजातिका घस्रने वन्यजन्तु र ५१३ रैथानेसहित बसाइँसराई गरी आउने चराहरु रहेका छन् ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार १०:३८

लोकप्रिय