सूचनाको शक्ति - The Power Of Information

        

तीन प्रदेशमा वर्षा, पाँचमा हिमपात, तराईमा बाक्लो हुस्सु र कुहिरो

देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ ।

तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ । बिहानको समयमा तराई तथा उपत्यकाका धेरै स्थानमा हुस्सु र कुहिरो लागेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात सेवामा प्रभाव पर्नसक्ने हुनाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

विभागले कोसी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

देशका धेरै स्थानमा बदलीको सम्भाना छ । काठमाडौंमा बिहान हुस्सु लाग्ने मौसमविद् रोजन लामिछानेले जानकारी दिए । ‘आज काठमाडौंमा मौसम बदली हुनेछ । बादल लाग्ने र घाम लाग्ने क्रम दिनभर चल्नेछ । दिउँसो केही बाक्लो बादल लाग्ने सम्भावना छ,’ उनले भने ।

मौसमविद् लामिछानेका अनुसार बिहान पौने ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ८.५ डिग्री सेल्सियस रहेको छ । दिउँसो अधिकतम १८ डिग्रीदेखि २० डिग्री सेल्सियसम्म पुग्नेछ । बिहान ५ः४५ को काठमाडौंको भिजिविलिटी ५ किलोमिटर छ ।

तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ । भैरहवादेखि पूर्व बाक्लो कुहिरो लागेको छ भने पश्चिम नेपालमा केही कम छ । धनगढीमा दुई हजार मिटर, नेपालगन्जमा हजार मिटर र दिपायलमा ५०० मिटर भिजिविलिटी छ । भैरहवामा सबैभन्दा कम ५० मिटर र विराटनगरमा १०० मिटर भिजिविलिटी रहेको छ ।

‘घाम लागेपछि केही कम हुन्छ । दिउँसोसम्म हुस्सु र कुहिरो हट्छ,’ मौसमविद् लामिछानेले भने । दुई हजार मिटरभन्दा कम भिजिविलिटीमा हवाई सेवा प्रभावित हुन्छ । विमान उडान तथा अवतरणका लागि दुई हजार मिटरभन्दा माथि भिजिविलिटी आवश्यक पर्छ । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको विभागले बताएको छ ।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार ०८:११

लोकप्रिय