सूचनाको शक्ति - The Power Of Information

        

रित्तिएको गाउँमा सामूहिक कागती खेती

बसाइँसराइका कारण रित्तिँदै गएको गाउँमा बागलुङ नगरपालिका–१४ बलेवाका किसानले व्यावसायिक कागतीखेती गर्न थालेका छन् । किसानले समूह बनाएर साढे २०० रोपनी जग्गा भाडामा लिएर कागतीखेती शुरु गरेका हुन् । बलेवाका ५२ किसानले झाडीले ढाकिएको खेतीयोग्य जमिन सदुपयोग गरी कागती लगाएका छन् ।

२०७७ सालमा शुरु गरेको ‘चासो कृषक समूह’ले शुरु गरेको कागतीखेती फस्टाउन थालेको छ । कागतीखेती गर्न एक करोड ५० लाखभन्दा बढी लगानी भएको समूहका अध्यक्ष केशव सुवेदीले जानकारी दिए । गत वर्षदेखि नै कागती उत्पादन हुन थालेको उनको भनाइ छ । यो वर्ष करिब पाँच लाखको बिक्री गरेको अध्यक्ष सुवेदीले बताए ।

कागतीखेतीका लागि कृषि ज्ञान केन्द्रले ६ लाख र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले १५ लाख अनुदान दिएको थियो । किसानले झण्डै एक करोड ३० लाख लगानी गरेको अध्यक्ष सुवेदीले जानकारी दिए । गाउँका नागरिक सेवा र सुविधाको खोजीमा बजार झर्न थालेपछि खेतीयोग्य जमिनको सदुपयोगका लागि कागतीखेती शुरु गरेको उनले बताए ।

अध्यक्ष सुवेदीका अनुसार हाल कागती बगानमा चार हजार बिरुवा हुर्किरहेका छन् । गाउँमा बाँदर आतंक बढ्दा अरु खेती गर्न छाडेर कागती खेती गरिएको हो । कागतीखेती गरेपछि बाँदरको आतंक केही कम भएको छ । बर्सेनी उत्पादन बढ्दै जाने र आम्दानी पनि बढ्ने छ । यस वर्ष रु पाँच लाखको कागती बागलुङ, कुश्मालगायत बजारमा बिक्री भएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बागलुङका प्रमुख नारायण पौडेलले दुई वर्षदेखि उक्त कृषक समूहलाई प्राविधिक सहयोग र आर्थिक अनुदान दिँदै आएको बताए । २०७९ सालमा चक्लाबन्दीका लागि १० लाख र गत वर्ष कागती ग्रेडिङ तथा भण्डारणका लागि पाँच लाख सहयोग गरेको उनले बताए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले दुई वर्षदेखि निरन्तर सहयोग गर्दै आएको छ । विषादी र अन्य प्राविधिक सहयोग गरेका छौँ, बोटले विस्तारै फल दिन थालेपछि किसान पनि उत्साहित छन् ।

प्रकाशित मिति : १३ माघ २०८१, आइतवार १३:३८

लोकप्रिय