सूचनाको शक्ति - The Power Of Information

        

कैलाली र धनुषामा दाई र श्रीमतीको ‘हत्या’

कैलालीमा हत्या आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१७, धुर्जन्ना दीपनगर टोलका ३० वर्षीय प्रकाश बोहरा छन् । आफ्नै दाइ ३५ वर्षीय लालबहादुर बोहराको हत्या गरेको उनीमाथि आरोप छ ।

गएराति (शनिबार) उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ । प्रकाशले विवादका क्रममा कैँची प्रहार गर्दा लालबहादुर गम्भीर घाइते भएका थिए । धनगढीस्थित निसर्ग अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको थियो ।

यसैबीच, धनुषामा श्रीमतीको हत्या आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाधाम नगरपालिका–५, पर्वता टोलका २५ वर्षीय देवलाल ठाकुर छन् । २३ वर्षीया श्रीमती संगीता ठाकुरको हत्या गरेको उनीमाथि आरोप छ ।

गएराति (शनिबार) उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ । देवलालले गजबार (ढोका बन्द गर्न राखिएको लामो आग्लो) प्रहार गर्दा घटनास्थलमा संगीताको मृत्यु भएको भन्ने सूचनापछि प्रहरी टोली खटिएको थियो । दुवै घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ माघ २०८१, आइतवार १३:२७

लोकप्रिय