तराईका अधिकांश जिल्लामा शीतलहर बढ्न थालेको र हिमाली क्षेत्रमा पनि हिमपात भइरहेकाले त्यस सम्बन्धी कार्ययोजनाको प्रभावकारी कार्यान्वयनका लागि गृह मन्त्रालयको विपद् प्राधिकरणले प्रमुख जिल्ला अधिकारीहरुको ध्यानाकर्षण गराएको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तराईका क्षेत्रमा शीतलहर बढ्न थालेको र यो क्रम अझै केहीदिन रहने जानकारीसहितको विशेष बुलेटिन नै जारी गरेको उल्लेख गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा.डिजन भट्टराईले शीतलहर र हिमपात सम्बन्धी कार्ययोजना थप प्रभावकारीरुपमा कार्यान्वयन गर्न सबै प्रजिअलाई पत्राचार गरिएको जानकारी दिए ।
महाशाखाका अनुसार हाल मधेस प्रदेशको पूर्वी भूभाग तथा कोशी प्रदेशको तराई भूभागमा मन्द शीतलहरको अवस्था छ । साथै तराईका धेरै स्थानमा पनि हुस्सु तथा कुहिरो लागेको छ । कतिपय हिमाली भूभागमा हिमपात भइरहेको छ । महाशाखाले जारी गरेको शीतलहर सम्बन्धी विशेष बुलेटिनमा तराईका धेरै स्थानहरूमा हुस्सु र कुहिरोको सम्भावना रहेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्नेभएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
यो क्रम अझै केही दिनसम्म रहने जनाइएको छ । प्राधिकरणले शीतलहर तथा हिमपातको जोखिम न्यूनीकरण र पूर्वतयारी कार्ययोजना–२०८१ जारी गरी कार्यान्वयन गरिरहेको छ । मौसमुविद्का अनुसार कात्तिकदेखि फागुन महिनासम्म नेपालका विभिन्न भागमा शीतलहर तथा हिमपातको प्रभाव रहन्छ । यो समयमा तराई तथा भित्री मधेसका जिल्लाहरूमा जाडोको समयमा शीतलहरको जोखिम रहने र उच्च पहाडी तथा हिमाली जिल्लाहरूमा तापक्रम निकै नै घट्न गई चिसो बढ्ने र हिमपात हुने गरेको प्राधिकरणका प्रवक्ता डा भट्टराईले बताए ।
शीतलहर तथा हिमपातको जोखिम न्यूनीकरण र पूर्वतयारी कार्ययोजना–२०८१ मा शीतलहर, अत्यधिक चिसो र हिमपातबाट विपन्न वर्गहरू बढी प्रभावित हुने र यस अवधिमा श्वासप्रश्वास सम्बन्धी रोगहरूको प्रकोप हुनसक्ने भएकाले वृद्धवृद्धा, बालबालिका, सुत्केरी, अपाङ्गता भएका व्यक्ति, दीर्घरोगीलाई विशेष संरक्षणको आवश्यकता पर्ने शीतलहर तथा हिमपातको समयमा प्रभावित हुने क्षेत्र, जनसङ्ख्या, आवश्यक पर्ने राहत तथा उद्धारका सामग्रीहरू र गर्नुपर्ने आवश्यक पूर्वतयारी र प्रतिकार्यको योजनाबद्ध कार्यढाँचा गर्नुपर्ने उल्लेख छ ।
पछिल्ला केही दिन ह्वात्तै बढेको तापक्रम क्रमशः घट्न थालेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च चापीय प्रणालीका कारण केही दिनअघि ह्वात्तै बढेको तापक्रम शुक्रबारदेखि भने घट्न थालेको हो । शुक्रबार काठमाडौँमा अधिकतम तापक्रम २१.५ डिग्री रहेकामा शनिबार २०.५ डिग्री मापन गरिएको छ । न्यूनतम तापक्रम पनि ४.८ डिग्री मापन भएको छ । माघ ९ गते काठमाडौँको अधिकतम तापक्रम २४.६ डिग्री पुगेको थियो भने न्यूनतम तापक्रम पनि ६.२ डिग्री मापन गरिएको थियो ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले तापक्रम केही दिनअघिको तुलनामा घट्दै गएको बताए । यद्यपि अहिलेको तापक्रम सामान्यभन्दा बढी नै रहेको उहाँको भनाइ छ । मौसमविद् पुडासैनीले भने, ‘केही दिनअघिको भन्दा तापक्रम घटेको छ, मुख्यगरी यसअघि माथिल्लो वायुमण्डलमा उच्च चपीय प्रणाली थियो । अहिले त्यो सरेर गएकाले तापक्रम घटेको हो, अबको केही दिन यस्तै रहने देखिन्छ ।’ उच्च चापीय प्रणालीले तातो बढाउँछ भने न्यूनचापीय प्रणालीले चिसो बढाउने उनको भनाइ छ ।
उनले अबको तीन दिन वर्षा गराउने र हिमपात हुने प्रणाली नभएको तर तराई क्षेत्रमा शीतलहर तथा बाक्लो हुस्सु र कुहिरोको प्रभाव भने यथावत रहने बताए । शनिबार उपत्यका बाहिरका जिल्लामा पनि तापक्रम घटेको छ । माघ ९ गते दीपायलमा अधिकतम तापक्रम २७.२ र वीरेन्द्रनगरमा २७.१ डिग्री मापन गरिएको थियो । महाशाखाका अनुसार शनिबार राति दीपायलको अधिकतम तापक्रम २५.२ डिग्री र वीरेन्द्रनगरको अधिकतम तापक्रम २४.४ डिग्री छ । अन्य मापन केन्द्रहरुमा पनि माघ ९ गतेको तुलनामा तापक्रम घटेको छ । जुम्ला र जिरीमा भने न्यूनतम तापक्रम माइनसमा पुगेको जनाइएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं