२०८३ मंसिर ११ , शुक्रबार 27, November 2026, Friday

तराईमा शीतलहरको जोखिम कायमै, जनजीवन प्रभावित

हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । यतिबेला (आइतबार बिहान) कोसी, बागमती र कर्णाली प्रदेशका पहाडी भूभागको मौसम आंशिक बदली छ । देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार केही दिनयता कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा दिनभरि हुस्सु र कुहिरो लाग्दा जनजीवन प्रभावित भएको छ । मधेश प्रदेशको पूर्वी भूभाग (सप्तरी) तथा कोशी प्रदेशको तराई भू–भाग (झापा, मोरङ र सुनसरी)मा केही दिनयता मन्द शीतलहर चलेको हो ।

महाशाखाले मधेस प्रदेशको पूर्वी भू–भाग तथा कोशी प्रदेशको तराई भू–भागमा मिति आजसम्म शीतलहरको अवस्था नै रहने सम्भावना देखिएको जनाएको छ । मधेस प्रदेशको पश्चिमी भू–भाग तथा बाँकी प्रदेशहरूका तराईका भू–भागमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने र मध्याह्नपछि क्रमिक रूपमा सुधार हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाले तराईका भू–भागमा हुने हुस्सु–कुहिरो–शीतलहर निरन्तर अनुगमन गरिरहेको र आवश्यकता अनुसार थप विशेष बुलेटिन समेत जारी गर्ने जनाएको छ । हुस्सु–कुहिरोको थप जानकारीका लागि हरेक दिन बिहान ९ः३० बजे मौसम पूर्वानुमान महाशाखाले जारी गर्ने हुस्सु–कुहिरो–शीतलहर बुलेटिन अनिवार्य हेर्न सुझाव दिएको छ ।

शीतलहरका कारण स्वास्थ्य, यातायात, शिक्षा, कृषि तथा मानिसहरुको दैनिक जीवनमा असर पर्ने हुनाले आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गर्दै महाशाखाले भनेको छ, ‘बिहानको समयमा देशका तराई तथा उपत्यकाका धेरै स्थानमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।’

प्रकाशित मिति : २०८१ माघ १३ गते आइतबार