सूचनाको शक्ति - The Power Of Information

        

तराईमा अझै एक सातासम्म बाक्लो हुस्सु र कुहिरो

तराईका धेरै भूभागमा हुस्सु र कुहिरो लागेको छ । पूर्वी तराईदेखि पश्चिम तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागिरहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । उनका अनुसार बिहान पौने ६ बजे धनगढीमा २०० मिटर भिजिविलिटी रहेको छ । नेपालगन्ज र पोखरामा समान ५०० मिटर भिजिविलिटी छ ।

सिमरामा ८०० मिटर भिजिविलिटी रहँदा विराटनगर र चन्द्रगढीमा समान एक हजार मिटर भिजिविलिटी रहेको छ । घाम लाग्दै गएपछि केही कम हुँदै जाने र अपराह्नसम्म हट्ने मौसमविद् मानन्धरको भनाइ छ । आज पनि तराईका अधिकांश स्थानका विमानस्थलको सेवा बिहान प्रभावित हुनेछ ।

दुई हजार मिटरभन्दा कम भिजिविलिटीमा विमानले उडान र अवतरण गर्न सक्दैनन् । ‘जनवरी महिनाभर तराईमा हुस्सु र कुहिरो लाग्छ । चिसोको समयमा हरेक वर्ष तराईमा हुस्सु र कुहिरो लाग्नु सामान्य हो,’ मौसमविद् मानन्धर प्रष्ट पार्छिन्, ‘फेब्रुअरी सुरु भएपछि हुस्सु र कुहिरो लाग्ने क्रम कम हुनेछ ।’ एक किलोमिटरभन्दा कम भिजिविलिटी हुँदा त्यसलाई कुहिरो भनिन्छ ।

एक किलोमिटरभन्दा बढी र पाँच किलोमिटरभन्दा कम भिजिविलिटी भयो भने त्यसलाई हुस्सु भनिन्छ । न्यून तापक्रम, नगन्य मात्रमा मात्रै बादल लाग्नु र हावा कम चल्नु हुस्सु र कुहिरो लाग्नुको मुख्य कारण भएको मौसमविद्को भनाइ छ । हुस्सुमा भन्दा कुहिरोमा पानीको मात्रा बढी हुन्छ । हुस्सुमा सापेक्षित आद्रता सयभन्दा कम तर ७० प्रतिशतभन्दा बढी हुन्छ ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार ०७:३९

लोकप्रिय