सूचनाको शक्ति - The Power Of Information

        

विचार

कोहलपुरको विकासमा अवसरको स्वार्थ

कोहलपुरका जनप्रतिनिधि र प्रशासनिक कर्मचारीहरूको आन्तरिक गठबन्धनले स्थानीय विकास र सामाजिक समृद्धिको उद्देश्यमा बाधा पुर्‍याइरहेको छ ।

कोहलपुर नगरपालिकामा हालसम्म भएको विकास योजनाको कार्यान्वयन र प्राविधिक प्रक्रियाले भएका हुने योजनाहरुको उपलब्धि, संस्थागत विकास समृद्धि र लाभांशले हालसम्मको उपयोग बिहिनताले यश क्षेत्रमा नकारात्मक सन्देश दिएको छ । सतहमा नदेखिएका तथा देखिएका समय सन्दर्भमा बाहिरिएका कतिपय अनियमितता र भ्रष्टाचारका बजार हल्लाका समाचारहरुको प्रभाव लक्षणले न केवल समग्र नगरवासीहरूको जीवनस्तरमा प्रगति गर्न सक्ने आशालाई धक्का पुर्‍याएको छ, बरु यसले प्रशासनिक, कानूनी र सामाजिक संरचनामा गम्भीर असर पनि पुर्‍याएको छ ।

विशेषगरी बिगत बर्षहरुमा बनाइएका सिमित स्वार्थ र लाभका योजना कार्यक्रमहरु नगरसभाको अनुमोदनको आडमा कार्यपालिका बैठकको निर्णयले तिनै टुक्रे योजनाहरू, परियोजनाहरूको सञ्चालनमा प्राविधिक मापदण्ड र ऐन–कानूनको पालना गरिनुको साटो पूर्ण रूपमा उल्लङ्घन गरिएको छ । सार्वजनिक खरिद ऐनको अनुपालन नगरी, विभिन्न सरोकारवाला निकाय र एजेन्सीहरूको बीचमा तालमेलको अभावमा स्वार्थ समुहको तालमेलमा कागजात मिलाउदै गरिएका योजना कार्यक्रमको सम्झौता कार्यान्वयनले गर्दा अन्ततः कोहलपुर नगरको समग्र विकासमा गति प्रदान नगरी अवरोध ल्याउने देखिन्छ ।

सबैभन्दा महत्वपूर्ण कुरा भनेको प्राविधिक स्टिमेट र उपभोक्ता समितिको नाममा सम्पन्न भएका योजनाहरूको कार्यान्वयनको प्रक्रिया हो । विगतदेखि आवधिक आर्थिक बर्षहरुमा योजना कार्यक्रमहरु नगरसभामा प्रस्ताव भएर कार्यान्वयनका लागि परियोजना पत्रहरु प्राविधिकहरूले कहिले डिपिआर (म्भतबष् िएचयवभअत च्भउयचत) तयार गरे र अनुमोदन गरेर स्वीकृत गरियो ? नगर सभा तथा कार्यापालिकामा अनुमोदन नगरी गरिएका यस किसिमका डिपिआरको उपयोगिता र प्रभावकारिता यथार्थमा पूरा भएको छ ? योजनाहरूको उपलब्धि र लाभांश कति हो ? यी सबै प्रश्नहरूको उत्तर कोहलपुर नगरवासी र सरोकारवालाहरूलाई दिइनुपर्दछ ।

यथार्थमा, कार्यान्वयनका समय अवधि र योजनाहरूको मूल्यांकनका लागि कुनै स्पष्ट प्रतिबेदन तयार गरिएको छैन, जसले योजनाका फाइदाहरू र यसका प्रभावहरू मापन गर्न सकिँदैन । अर्को गम्भीर प्रश्न भनेको यी योजनाहरूको आधार मापदण्ड र प्रक्रियाहरुको कति कानुनतः पालना गरिएका छन ? यदि योजनाको कार्यान्वयन प्रक्रिया कागजी रूपमा गरिएको छ भने, यसले नगरवासीको वास्तविक जीवनमा कुनै परिवर्तन ल्याउने छैन । अहिलेसम्म गरिएका र गरिने विकास योजनाहरूको प्रभावकारिता कस्तो छ भन्ने कुरा प्राविधिक र योजना शाखाबाट तयार पारिएका रिपोर्टबाट थाहा पाउन सकिन्छ ।

बिडम्बना कार्यान्वयन भए गरेका कार्यक्रम योजनाहरु केवल कागजी कार्यवाही र अनुमोदनसम्म सीमित रहेर सम्पन्न भएको देखिन्छ । झन्डै सात–आठ बर्षको स्थानीय सरकारका योजना तथा कार्यक्रमहरुले नीतिगत तथा ब्यवहारिक रुपमा समाजमा राम्रो दीर्घकालीन उपलब्धि र समृद्धिमा टेवा पुर्‍ययाएको छैन । योजना विकास र कार्यक्रमहरु समाज समुदाय र समृद्धिको आवश्यकताको आधारमा भन्दा पढेर खाएको रोजगारी र जितेर आएको दम्भको गठजोडको अवसरको स्वादिष्ट भोजन जस्तै बनेको छ । वास्तविक योजना बिकासको कार्यान्वयन र परिणामको मूल्याङ्कनको अभाव छ ।

जनताको घरदैलोमा सेवा प्रवाह गर्ने निकाय स्थानीय सरकारको कार्य सम्पादनमा सुधार ल्याउनका लागि कार्यालयको प्रमुख प्रशासनिक निकायले नगरवासीहरूको राय, सुझाव र सल्लाहलाई गम्भीरतासाथ लिँदै योजनाहरूको परिमार्जन गर्नु आवश्यक छ । एकतर्फी निर्णय र स्वार्थपूर्ण प्रक्रियाले समुदायको विश्वासलाई गुमाएको छ । नगरपालिकाका अधिकारीहरूले जनताको साझेदारी र सहभागिता जस्ता कुरामा सुधार परिस्कृत गर्दै जानुपर्दछ । यस्ता सुधारहरूले नगरको समृद्धि र सामाजिक समरसता सुनिश्चित गर्न मद्दत पुर्‍याउँछन् ।

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछिको स्थानीय सरकारको पछिल्लो कार्यकालसम्म आइपुग्दा केही कर्मचारी र जनप्रतिनिधिहरूको आन्तरिक गठबन्धन र सेटिङ्गका कारण कोहलपुर नगरपालिकामा सुधारको अवसर र आशा मरेको छ । यस गठबन्धनले केवल भ्रष्टाचार र अनियमिततामा वृद्धि गरेको छैन, अपितु यसले सरकारी स्रोतहरूको दुरुपयोग पनि बढाएको छ । सार्वजनिक खरिद ऐन बमोजिम कुनै पनि सार्वजनिक योजना वा कार्यको सञ्चालनमा कानूनी प्रक्रिया र नीतिको पालन नगरी, विभिन्न निकाय र एजन्सीहरूको बीचमा तालमेलको अभाव छ ।

यसले राज्यको स्रोतको दोहनलाई प्रोत्साहन गरेको छ, जसले नगरको विकास प्रक्रियामा गम्भीर समस्याहरू ल्याएको छ । कोहलपुर नगरपालिकामा सुधारको आवश्यकता अत्यन्तै स्पष्ट छ । कोहलपुरका जनप्रतिनिधि र प्रशासनिक कर्मचारीहरूको आन्तरिक गठबन्धनले स्थानीय विकास र सामाजिक समृद्धिको उद्देश्यमा बाधा पुर्‍याइरहेको छ । यी सबै अवरोधहरूको समाधान खोज्नका लागि, प्रशासनिक प्रक्रिया र कार्यान्वयनमा पारदर्शीता र जवाफदेहिता सुनिश्चित गर्नका लागि दृढ कदम चाल्नु अनिवार्य छ । कार्यालयको शासन प्रणालीको सुधार र विकासका लक्ष्यहरू प्राप्त गर्नको लागि, नगरपालिका कार्यालयले सबै योजनाहरूको वास्तविक मूल्याङ्कन गर्नुपर्छ र योजनाहरूको कार्यान्वयनमा पूर्ण पारदर्शीता ल्याउनुपर्छ ।

यसका लागि, सरकारी स्रोतहरूको दुरुपयोग रोक्न, भ्रष्टाचारलाई नियन्त्रण गर्न र कानूनी दायराभित्रै काम गर्न आवश्यक छ । यसले कोहलपुर नगरको सामाजिक र आर्थिक समृद्धिमा योगदान पुर्‍याउनेछ । अन्ततः, कोहलपुर नगरपालिकामा हुने सुधारका लागि जनप्रतिनिधि, कर्मचारी र नागरिक समाजको समझदारी र सहभागिता आवश्यक छ । केवल कागजी काम र तालमेल मिलाउने प्रक्रिया मात्रै नगरको समृद्धिको मार्गमा होइन, नगरवासीको जीवनस्तरमा वास्तविक सुधार ल्याउनका लागि साँचो र इमानदार कार्यशैली अपनाउन जरूरी छ । यसले समग्र समाजको विकास र समृद्धिको बाटो खोल्नेछ ।

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार १५:१८

लोकप्रिय