सूचनाको शक्ति - The Power Of Information

        

ट्रम्पले लिए अमेरिकी राष्ट्रपतिको शपथ

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ४७ औं राष्ट्रपतिको रूपमा शपथ लिएका छन् । नेपाली समय अनुसार गएराति पौने ११ बजे अमेरिकी संसद्को क्यापिटल हिलमा ट्रम्पले ४७ औँ राष्ट्रपतिको रूपमा शपथ लिएका हुन् । उनलाई अमेरिकाको सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबट्र्सले शपथ खुवाएका बीबीसीले जनाएको छ ।

राष्ट्रपतिको रुपमा ट्रम्पको यो दोस्रो कार्यकाल हो । रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपतीय चुनावमा उम्मेदवार बनेका ट्रम्प डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसलाई पराजित गर्दै विजयी भएका थिए । यसअघि उनी सन् २०१६ को नोभेम्बरमा राष्ट्रपतिमा निर्वाचित भएर २०२० सम्म चार वर्ष ह्वाइट हाउसमा रहेका थिए । उनी २०२० मा वर्तमान राष्ट्रपति जो वाइडेनसँग पराजित भएपछि २०२१ जनवरीमा ह्वाइट हाउसबाट बिदा भएका थिए । ।

शपथ ग्रहण समारोहमा निवर्तमान राष्ट्रपति जो बाइडेन, पूर्वराष्ट्रपतिहरू, उपराष्ट्रपतिहरू, मनोनीत गरिएका मन्त्रीहरू तथा उच्चपदस्थ अधिकारीहरू उपस्थित थिए । सपथ ग्रहण कार्यक्रमको उद्घाटन सम्बोधनमा ट्रम्पले अमेरिकाको स्वर्ण युग अहिले शुरू भएको भन्दै अमेरिकालाई एक शक्तिशाली र समृद्ध राष्ट्रको रूपमा पुनः उभ्याउने आफ्नो योजना रहेको बताए ।

यो नयाँ युग अमेरिकाको आर्थिक र सामाजिक सुधारसँगै राजनीतिक क्षेत्रको नयाँ दिशा तय गर्ने समय भएको ट्रम्पको भनाइ छ । उनले नागरिकलाई एकताबद्ध भएर काम गर्न आह्वानसमेत गरे । ट्रम्पले वाशिङ्गटन डीसीको एक स्टेडियममा हजारौँ समर्थकहरू माझमा आफ्नो दोस्रो राष्ट्रपति कार्यकालको पहिलो आदेशमा हस्ताक्षर गरेको तयारी रहेको बीबीसीले जनाएको छ ।

ट्रम्पले विशेष गरेर अमेरिका–मेक्सिको सीमामा ‘राष्ट्रिय आपतकाल’ घोषणा गर्ने, ड्रग कार्टेललाई आतङ्कवादी घोषणा गर्ने र सरकारी विविधता कार्यक्रमहरू खारेज गर्ने कामलाई प्राथमिकता दिएको खबरमा उल्लेख छ । कागजपत्र विहिन लाखौँ आप्रवासीहरुलाई फिर्ता पठाउने ट्रम्पले बताएका छन् ।

बाइडेन प्रशासनका ७८ निर्णय रद्द

अमेरिकी राष्ट्रपतिको शपथ लिएपछि डोनाल्ड ट्रम्पले पुर्व राष्ट्रपति जो बाइडेन प्रशासनका ७८ निर्णय रद्द गरेका छन् । राष्ट्रपतिको रूपमा शपथ लिएको केही घण्टामै ट्रम्पले विभिन्न कार्यकारी आदेशहरूमा हस्ताक्षर गर्दै अहिलेसम्म बाइडेन प्रशासनका ७८ निर्णय रद्द गरेको अमेरिकी मिडियाहरुले उल्लेख गरेका छन् । यससँगै अमेरिकाले पेरिस जलवायु सम्झौताबाट बाहिरिने घोषणा गरेको छ ।

उनले यो सहमति अमेरिकी नागरिकको हितमा नरहेको बताउँदै आएका थिए । त्यस्तै ट्रम्पले अमेरिका–मेक्सिको सीमामा अवैध आप्रवासनलाई राष्ट्रिय आपतकाल घोषणा गरेका छन् । उनले संयुक्त राज्य अमेरिकामा विदेशी गिरोह सदस्यहरूलाई लक्षित गर्न १७९८ को एलियन एनिमीज एक्ट लागू गर्ने योजना पनि घोषणा गरे । यो कानुनी अधिकार अन्तिम पटक दोस्रो विश्वयुद्धको समयमा जापानी, जर्मन र इटालियन मूलका गैर–नागरिकहरूलाई नजरबन्द शिविरहरूमा थुन्न प्रयोग गरिएको थियो ।

स्रोत : बीबीसी
प्रकाशित मिति : ८ माघ २०८१, मंगलवार ०७:५७

लोकप्रिय