सूचनाको शक्ति - The Power Of Information

        

विचार

बीमा कम्पनीहरुको ठगीधन्दा, ‘हातले दियो, खुट्टालाई दुःख’

अहिले बीमाकै कारण सर्वसाधारण ठगिएका मात्र छैनन्, समाजमा विकृति र अपराध समेत बढ्दै गएको छ ।

केही वर्षअघि निकै प्रख्यात बीमा अर्थात् इन्स्युरेन्स पछिल्लो समय घट्दो क्रममा छ । मुलुकमा बीमा गर्ने–गराउनेहरुको संख्या घट्दै गएको छ । नेपालमा विशेष गरी तीन प्रकारको बीमा प्रचलनमा छ । स्वास्थ्य बीमा, जीवन बीमा र निर्जिवन बीमा । आफ्नो स्वास्थ्य उपचारका लागि गरिने बीमा स्वास्थ्य बीमा हो भने व्यक्तिले आफ्नो जीवन अवधिमा आइपर्ने जोखिमका लागि पूर्वतयारी स्वरुप गर्ने बीमा जीवन बीमा हो ।

यता, निर्जिवन बीमा अन्तर्गत सम्पत्तिहरुको बीमा गराउनुलाई बुझिन्छ । नेपालमा पछिल्लो समय अधिकांशले स्वास्थ्य बीमा, जीवन बीमा र निर्जिवन बीमा गर्ने गरेको पाइन्छ । अहिले व्यक्तिले आफ्नो घरदेखि सवारीसाधन, पसल, अस्पताल, विमान लगायतट सम्पत्तिहरुको बीमा गराउने गरेका छन् । स्वास्थ्य बीमा अन्तर्गत ३५ सय तिरेर पाँच जनाको बीमा गराइन्छ । यसको अवधि एक वर्ष मात्र हुन्छ । त्यसपछि वर्षौपिच्छे नवीकरण गर्नुपर्छ ।

त्यस्तै, जीवन बीमा गराउँदा पन्ध्र हजारदेखि ३५ हजारसम्म र निर्जिवन बीमा गराउँदा पाँच हजारदेखि लाखौं रकमसम्म तिर्नुपर्छ । उदाहरणका लागि दुई पाङ्ग्रेदेखि चार पाङ्ग्रे सवारीको बीमा गराउँदा शुरुमा पाँच हजारदेखि ५० हजार रुपैयाँसम्म तिर्नुपर्छ । त्यसपछि वर्षौपिच्छे त्यति नै रकम नवीकरणस्वरुप दाखिला गर्नुपर्छ । यदि नवीकरण नगरेमा बीमा अभिलेखबाटै नाम हटाइदिइन्छ । उदाहरणका निम्ति कुनै व्यक्तिले एक वर्षअघि ५० हजार रुपैयाँ तिरेर आफ्नो सवारीको बीमा गरायो । सो अवधिसम्म उसको सवारी दुर्घटनामा परेन ।

उता, बीमाको एक वर्षे म्याद सकियो । र, उसले केही दिनपछि नवीकरण गर्छु भन्दाभन्दै सवारी दुर्घटना पर्यो । यस्तो अवस्थामा बीमा कम्पनीहरुले उसलाई रकम उपलब्ध गराउँदैन । उल्टै तोकिएको समयभित्र नवीकरण नगरेको भन्दै जरिवाना तिराउँछन् । यसरी यत्रो रकम तिरेर गरिएको बीमाबाट उनीहरुलाई समस्यामा पर्दा भने फाइदा हुँदैन । बीमा कम्पनीलाई मात्र फाइदा पुग्छ । बीमा कम्पनीहरुले बैंक तथा वित्तिय संस्थाका सञ्चालक, अध्यक्ष र कर्मचारीहरुलाई घुस दिन्छन् । उनीहरुको शर्त हुन्छ, बीमा नगराई कसैलाई कर्जा नदिनू ।

सोहीअनुरुप बैंक, वित्तिय संस्थाले बीमा नगराई कर्जा नै प्रवाह गर्दैनन् । अनि ऋणी बाध्य भएर बढी रकम तिरी आफ्नो धितोको बीमा गराउँछन् । एक चोटी बीमा गरेर मात्र पुग्दैन । त्यसको वर्षौपिच्छे नवीकरण गर्नुपर्छ । नवीकरण गर्दा तोकिएको रकम तिर्नैपर्यो । यतिमात्र होइन, बीमा कम्पनीहरुले सरकारी निकायलाई समेत आफ्नो कब्जामा लिएका छन् । यातायात व्यवस्था विभाग र यातायात कार्यालयहरुले बीमा नगराएका सवारीसाधनको नामसारी र कागजपत्र नवीकरण गर्दैनन् भने श्रम मन्त्रालयले बीमा नगराई वैदेशिक रोजगारीमा जान दिँदैन ।

२०७३ सालमा स्वास्थ्यमन्त्री हुँदा गगन थापाले स्वास्थ्य बीमा सम्बन्धी नीति ल्याएका हुन् । सीमित व्यवसायीको फाइदाका निम्ति उनले स्वास्थ्य बीमा नीति लागू गरे । अहिले बीमाकै कारण सर्वसाधारण ठगिएका मात्र छैनन्, समाजमा विकृति र अपराध समेत बढ्दै गएको छ । बीमा कम्पनीहरुले ग्राहक बनाउन एजेन्टहरु खटाउँछन् । ती एजेन्टहरुले सर्वसाधारणका घरघरमा गराएर बीमाबारे राम्रा–राम्रा प्रचार गर्छन् । विचरा सीधासाधी जनता होला नि त भनेर बीमा गराउँछन् । तर, बीमा गराए पनि उनीहरुले कुनै सहुलियत पाएका छैनन् ।

बीमा कम्पनीहरुले बीमित औषधी उपचारका निम्ति निश्चित अस्पताल तोकेका छन् । अनि त्यो अस्पतालबाहेक अन्य अस्पतालमा औषधी उपचार गराएमा बीमाबाट हुने सहुलियत प्रदान गरिँदैन । अहिले बिमितहरु तोकिएको अस्पताल पुग्छन् । तर, त्यहाँ न उनीहरुलाई आवश्यक औषधी हुन्छ न डाक्टर नै हुन्छन् । भर्ना गराएका बिरामीलाई समेत निजी वा अन्य अस्पतालमा रिफर गरिन्छ । यसरी अस्पताल आफैँले रिफर गरेर बीमितले अर्को अस्पतालमा औषधी उपचार गराएमा पनि बीमाबाट उपलब्ध हुने सेवासुविधा पाइँदैन ।

यता, बीमा गराइएका सवारीसाधन–विमान दुर्घटना भएमा, घर वा पसलमा आगलागी भएमा शुरुमा प्रहरी रिपोर्ट मागिन्छ । त्यसपछि विभिन्न कागजपत्र । फेरि त्यो कागजपत्र नभएमा बीमा गराए पनि पैसा पाइँदैन । उदाहरणका निम्ति कुनै व्यक्तिको घरमा आगलागी भयो । एक करोडको क्षति पुग्यो । र, आगलागीमा सबै धन नष्ट भयो । अब उसले त्यो घरको बीमा गराएको रहेछ भने सम्बन्धित कम्पनीबाट कर्मचारी आउँछन् । घरको अवस्थाबारे अध्ययन गर्छन् । प्रहरीसँग सोधपुछ गर्छन् । र, प्रहरी रिपोर्ट हेर्छन् । तर, यतिले मात्र उनीहरुलाई पुग्र्दैन ।

सबैभन्दा महत्त्वपूर्ण उनीहरु बीमा गराइएको कागजपत्र माग्छन् । फेरि ती कागजपत्र आगलागीमा नष्ट भएको भएमा रकम दिइँदैन । विभिन्न बहाना बनाएर अलमल्याएर राखिन्छ । अन्त्यमा बिमितले विभिन्न निकाय गुहारेपछि मात्र बल्लतल्ल रकम दिन्छन्, त्यो पनि आधा । बीमा कम्पनीहरु जति शुरुमा बीमा गराउँदा मख्ख पार्छन्, त्यति नै रकम दिने बेला उनीहरु अनेक बहाना बनाउँछन् । अहिले सर्वसाधारणले बीमा गराएबापत तिरिरहेको रकम सरकारले तोकेको होइन । बीमा कम्पनीहरुले आफुखुशी तोकेका हुन् ।

बीमा कम्पनीहरुले सेवाको नाममा लुटतन्त्र मच्चाएपछि पछिल्लो समय बीमा गर्ने गराउनेहरु घट्दै गएका छन् । गत साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटना हुँदा १८ जनाको ज्यान गयो । ०७९ माघ १ गते पोखरामा पनि विमान दुर्घटना भयो । दुर्घटनामा ७२ जनाले ज्यान गुमाए । यसअघि वा पछि पनि पटकपटक विमान तथा हेलिकप्टर दुर्घटना भइसकेका छन् । तर, दुर्घटनामा परी ज्यान गुमाएका वा घाइते भएकाहरुले बीमा गराए पनि अहिलेसम्म रकम नपाएको गुनासो व्यापक छ ।

यता, सवारीसाधन दुर्घटनामा परी मृत्यु भएकाहरुका आफन्तहरु पनि बीमाबापतको रकम वर्षौदेखि नपाएको दुःखेसो गर्छन् । ०७२ वैशाख १२ गते महाभूकम्प गयो । १४ जिल्लामा क्षति पुग्यो । लाखौं घरमा क्षति पुग्यो भने सयौंको संख्यामा मानिसहरुको ज्यान गुमाए । भूकम्प जानुअघि आफ्नो घर र ज्यानको बीमा गराएकाहरुले अहिलेसम्म रकम नपाएको बताइन्छ । यता, ०८० कात्तिक १७ गते जाजरकोट र रुकुम पश्चिममा पनि भूकम्प गयो । त्यहाँका भूकम्पपीडितहरु पनि बीमा गराए पनि रकम नपाएको गुनासो गर्छन् ।

विश्वभर फैलिएको कोभिड–१९ भाइरस नेपालमा पनि देखा परेपछि ०७६ चैत ११ गते र ०७८ वैशाख १६ गते दुई पटक सरकारले देशभर लकडाउन गर्यो । त्यतिबेला बीमा कम्पनीहरुले नयाँ पोलिसी ल्याए । उनीहरुले भने, बीमा गराएमा कोरोनाका कारण मृत्यु भएमा पाँच लाखदेखि दश लाख रुपैयाँसम्म पाउँनुहुन्छ । यसपछि मानिसहरुले धमाधम बीमा गराए । आफ्नो र आफ्ना परिवारको । तर, पछि कोरोनाका कारण ज्यान गुमाएका मृतकका परिवारले बीमाबापतको रकम अहिलेसम्म पाएका छैनन् । गत असोज १०, ११ र १२ गते देशभर अविरल वर्षा भयो ।

अत्याधिक वर्षाका कारण मुलुकका अधिकांश ठाउँमा बाढी पहिरो गयो । त्यतिमात्र नभई काठमाडौं उपत्यका नै डुबानमा पर्यो । बाढीपहिरो र डुबानमा परी सयौंले ज्यान गुमाए भने हजारौं घरपरिवार विस्थापित भए । कोहीले बाढीले घर नै बगायो त कसैको पहिरोले पुरियो । तराई–मधेशमा भने घर डुबानमा परे । बाढीपहिरो र डुबानका कारण अर्बौको क्षति भयो । तर, आफ्नो सम्पत्तिको बीमा गराएकाहरुले लाखदेखि करोडौंको क्षति भएपनि बीमाबापतको रकम पाएनन् । बीमा कम्पनीहरु उनीहरुलाई रकम दिन आलटाल गरिरहेका छन् । बुढापाकाले भन्थे, ‘हातले दियो, खुट्टालाई दुःख ।’

बीमा कम्पनीहरुले फकाई फकाई सर्वसाधारणलाई बीमा गराउन लगाए । तर, पछि दुर्घटना वा घटना घटेपछि भने क्षतिपूर्ति दिन आनाकानी गर्छ । बीमा कम्पनीहरुले सेवाको नाममा लुटधन्दा मच्चाउँदा समेत राज्यको चौथो अंगको उपाधि पाएको वा जनताको आवाज सञ्चारमाध्यमहरु भने मौन छन् । अहिले जनताले बीमा कम्पनीहरुले ठगीधन्दा थाहा पाइसकेका छन् । त्यसकारण सहकारी जसरी यिनीहरु पनि छिट्टै डुब्ने छन् । अहिले नै बीमा गर्नेहरुको संख्या घट्दै गएको छ । अबको केही वर्षमा जनता झन सचेत भई यस्ता ठगहरुको पलायन हुने दिन आउने छ । भनिन्छ, अतिले खति निम्त्याउँम्छ । त्यसैले, कि अब बीमा कम्पनीहरु सुध्रिनुपर्छ नभए यिनीहरु सिद्धिन धेरै समय लाग्दैन ।

प्रकाशित मिति : ५ माघ २०८१, शनिबार १२:०३

लोकप्रिय