सूचनाको शक्ति - The Power Of Information

        

बाँकेका सीमा क्षेत्रमा सशस्त्र प्रहरीका ‘विकासे योजना’

सीमा क्षेत्रलाई लक्षित गरेर सशस्त्र प्रहरीले ‘बोर्डर एरिया डेभलपमेन्ट प्लान’ अन्तरगत ‘सीमाबासीसँग सशस्त्र प्रहरी’ अभियान सञ्चालन गरिरहेको छ । यो अभियान अन्तरगत सशस्त्र प्रहरीले नेपाल–भारत सीमा क्षेत्रका स्थानीयको आवश्यकता अनुसार धारा, प्रतिक्षालय र शौचालय निर्माण गर्दै आएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेक्का बागेश्वरी गणका गणपति सशस्त्र प्रहरी उपरिक्षक बिमल डाँगीले भने, ‘सीमा नाकामा बस्ने दुई देशका नागरिकहरुलाई आवतजावत गर्दा शौच गर्ने वातावरण सहज होस् भन्ने उद्देश्ले हामीले सीमा नाकामा भौतिक संरचना निर्माण गरेका हौं ।’

अभियान अन्तरगत बाँकेको नरैनापुर गाउँपालिका–१, स्थित नेपाल बडर आउट पोष्ट कटकुइँयाको पूर्वी सीमा क्षेत्र सुइँया नाकामा सशस्त्र प्रहरी र नरैनापुर गाउँपालिकाको संयुक्त सहकार्यमा नेपाल भारत आवतजावत गर्ने सर्वसाधारणका लागि पिउने पानीको धारा, सार्वजनिक शौचालय र चौतारा निर्माण गरिएको छ ।

सशस्त्र प्रहरी उपरिक्षक डाँगीका अनुसार छिमेकी देश भारतसँग सीमा जोडिएको बाँकेको नरैनापुर गाउँपालिका–१, स्थित सुइँया नाकामा सार्वजनिक शौचालय (महिला र पुरुष) र २ लाख लागतमा निर्माण गरिएको खानेपानी ट्याङ्की निर्माण गरिएको छ भने बाँकेकै डुडुवा गाउँपालिका–१, खडैचामा प्रतीक्षालय र खानेपानी ट्याङ्की निर्माण गरिएको छ ।

‘सीमाका स्थानीयका आवश्यकतालाई ध्यान दिनका लागि सशस्त्र प्रहरी संवेदनशील छ,’ सशस्त्र प्रहरी उपरिक्षक डाँगीले भने, ‘शान्ति सुरक्षासँगै बाटोमा हिँड्दा अत्यावश्यक विषयहरुप्रति सशस्त्र प्रहरी गम्भीर छ । यस्ता भौतिक संरचनाले विशेषगरी महिला, बालबालिका र जेष्ठ नागरिकलाई प्रत्यक्ष सहयोग पुग्ने सशस्त्र प्रहरीको विश्वास रहेको छ ।’

नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले शान्ति सुरक्षा कायम गर्न सशस्त्र प्रहरीले सीमा क्षेत्रमा पुर्याएको योगदान सराहनीय रहेको बताए । सीमा क्षेत्रका स्थानीयसँगको सम्बन्ध अझ प्रगाढ र सुमधुर बनाएर काम गर्न सुझाव दिँदै अध्यक्ष शाहले समाजसँगको सम्बन्ध थप प्रगाढ बनाउँदै लगे सशस्त्र प्रहरीको काम, कारबाही अझ प्रभावकारी बन्ने बताए ।

डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरीले पनि सीमा क्षेत्रको सुरक्षामा सशस्त्र प्रहरीले निर्वाह गरिरहेको भूमिका अतुलनीय रहेको भन्दै प्रशंसा गरे । उनले सशस्त्र प्रहरी सँग समन्वय गरी काम गर्ने प्रतिबद्धता जनाए । ‘सीमाबासीसँग सशस्त्र प्रहरी’ अभियान अन्तरगत केही दिनअघि सुइँया सीमाको प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा अधिकारीहरुले निरीक्षण गरेका थिए ।

भारतीय सीमा सुरक्षा बल (एसएसबी)का श्रावस्ती ६२ बटालियन कमान्डेन्ट अमरेन्द्रकुमार बरुनले सीमा क्षेत्रमा सशस्त्र प्रहरीसँग नियमित बैठक र समन्वय हुने गरेको बताउँदै बाँकेका प्रमुख जिल्ला अधिकारीसँग नेपालबाट गाँजा, चरेस र मदिरा भारततर्फ हुने तस्करी नियन्त्रण नभएको गुनासो गर्दै समन्वय गरिदिन आग्रह गरेका थिए ।

यसका साथै सीमा नाकामा शौचालय, खानेपानी र प्रतीक्षालय निर्माण गरेर दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाएको भन्दै भारतीय एसएसबी कमान्डेन्ट अमरेन्द्रले प्रशंसा गरेका थिए । उनले दैनिक ४०० सम्म नागरिकहरू नेपाल भारत आवतजावत गर्ने गरेकोले शौचालय निर्माणले यात्रुहरूलाई सहज हुने विश्वास व्यक्त गरे ।

बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले सीमा क्षेत्रमा सशस्त्र प्रहरी उभिएको देख्दा राष्ट्र नै त्यहाँ उभिएको भान हुने गरेको बताए । उनले नेपाल–भारत सीमा क्षेत्रबाट हुने चोरी, तस्करी नियन्त्रणसँगै सीमा सुरक्षा, विपद् व्यवस्थापन लगायतको सवालमा सशस्त्र प्रहरीले प्रभावकारी भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै नेपाल भारत सिमानामा हुने तस्करी नियन्त्रण गर्न आफ्नो मातहतका निकायहरूलाई निर्देशन समेत दिएका थिए ।

प्रकाशित मिति : ५ माघ २०८१, शनिबार ११:३६

लोकप्रिय