बाजुरामा फेरि हिमपात सुरु भएपछि चिसो बढेको छ । हिमाली क्षेत्रका उच्च ठाउँमा गत बिहीबारदेखि हिमपात भएपछि चिसो बढेको हो । चिसोका कारण यहाँका बासिन्दाको दैनिक काम प्रभावित भएको छ । शुक्रबार बिहान ७ बजेदेखि फेरि हिउँ पर्न सुरु भएपछि चिसो पनि निकै बढ्न थालेको बुढीनन्दा नगरपालिका–७, सेरकाटीयकी जनपुरा विकले बताए ।
उनले भनिन्, ‘बडीमालिका, बुढीनन्दा, जगन्नाथ, हिमाली, स्वामीकार्तिक लगायतका उच्च स्थानमा हिउँ पर्न सुरु भएपछि चिसो बढेर यहाँका बासिन्दाको दैनिक काम प्रभावित भएको छ ।’ बिहीबार बिहानैदेखि पर्न थालेको हिमपातले बालबालिका तथा वयोवृद्धलाई चिसोले घरबाहिर आउन नसकेको विकले बताइन् ।
हिउँदको महिना यहाँ त्यसै पनि निकै चिसो हुन्छ । त्यसैबेला फेरि यहाँ दुई पटक हिउँ परेपछि अहिले झन् चिसो बढेको छ । मङ्सिर, पुस र माघको महिनादेखि नै यहाँका अधिकांश ठाउँमा धेरै चिसो हुने गर्छ । यस वर्ष मङ्सिरको २३ गतेदेखि हिउँ पर्न सुरु भएपछि त्यो हिउँको चिसोले यहाँका बालबालिका तथा ज्येष्ठ नागरिकलाई निकै कठिनाइ भएको छ ।
पटक पटक हिमपात हुन थालेपछि अहिले बाजुराका स्थानीयलाई गाईभैँसी र भेडाबाख्रालाई वनमा चरिचरन गराउनसमेत समस्या भएको छ । हिउँले यहाँको जमिन पूरै सेताम्मे भएपछि यहाँका स्थानीयलाई भेडाबाख्रालाई बाहिर ल्याएर चरिचरन गर्न समस्या हुने गरेको छ । बाजुरामा हिउँदे खेतीका बेला सिँचाइको अभाव हुने गरेको छ । सिँचाइ अभावका कारण हिउँदे बाली गहुँ र जौ सुक्ने गर्छ ।
यस वर्ष भने चार पटक हिउँ परेपछि खेतीपाती राम्रो हुने आशामा कृषक खुसी भएका छन् । हिउँ परेपछि सिँचाइ अभावका कारण सुक्न लागेको गहुँ र जौ बाली अब हराभरा हुने आस कृषकको छ । बाजुरामा दुई लाख ३० हजार ३७ हेक्टर जमिनमध्ये २२ हजार हेक्टर जमिन खेतीयोग्य छ भने यसमा पाँच हजार २३५ हेक्टर जमिनमा मात्र वर्षभरिमा सिँचाइ हुने गरेको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख दसिराम साहनीले बताए ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाजुरा