२०८३ मंसिर ११ , शुक्रबार 28, November 2026, Saturday

पत्रकार महासंघका प्रदेश अध्यक्ष चौलागाईंलाई राजापुरमा सम्मान

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईलाई बुधबार बर्दियाको राजापुरमा सम्मान गरिएको छ । नेपाल पत्रकार महासंघको मंसिर २८ गते सम्पन्न निर्वाचनमा लुम्बिनी प्रदेश कार्यसमितिको अध्यक्षमा निर्वाचित अध्यक्ष चौलागाईंलाई बर्दियाको राजापुर–८ स्थित आफ्नै गाउँ (धोबिनपुर)मा हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामनासहित सम्मान गरिएको हो ।

६ वटा गाउँको प्रतिनिधित्व गर्ने कर्णाली युवा क्लब र जालपा सेवा समितिको संयोजनमा स्थानीय भद्र, भलादमी, नागरिक अगुवाले फूल माला, दोसल्ला र सम्मान पत्रसहित सम्मान गरेका हुन् । राजापुर–८ ओस्ताजपुर निवासी चौलागाईं ०५६ सालदेखि निरन्तर पत्रकारितामा क्रियाशिल छन् । पत्रकारितामार्फत राजापुर क्षेत्रको विविध सवाल र मुद्दा उठान, राजापुरको समग्र विकास तथा उत्थान र राजापुर क्षेत्रको नाम र मान बढाएकोमा चौलागाईंलाई उच्च कदर गर्दै सम्मान पत्र प्रदान गरिएको हो ।

प्रमुख अतिथि एवं सम्मानित ब्यक्तित्व चौलागाईंले राजापुर क्षेत्रको समग्र हित र विकासमा सदैव कलम चलाउँदै आएको स्मरण गर्दै सम्मानले पदिय दायित्व निर्वाह गर्न थप उर्जा मिलेको उदघोष गरे । राजापुर क्षेत्रका पत्रकार र पत्रकारिताको विकासका लागि महासंघबाट बिशेष कार्यक्रम ल्याउन प्रयत्न गर्ने पनि उनले विश्वास दिलाए । सोही समारोहमा नेपाल पत्रकार महासंघ बर्दिया शाखा सदस्यमा निर्वाचित ऋषि वाग्ले, प्रेस सेन्टर बर्दियाका नव निर्वाचित अध्यक्ष गान्दिप कायस्थलाई पनि सम्मान गरिएको थियो ।

जालपा सेवा समितिका अध्यक्ष केशवराज जैसीको अध्यक्षता भएको कार्यक्रममा वडा नं. ८ का निवर्तमान अध्यक्ष चिन्तामणि आचार्य, जेष्ठ नागरिकका तर्फबाट पूर्व प्रधानाध्यापक रामप्रसाद चौलागाईं, भेरी मावि विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद ढुंगाना, शिक्षक शिवलाल चौलागाईं लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक पदमऋषि चौलागाईंले गरेका थिए ।

प्रकाशित मिति : २०८१ माघ ३ गते बिहीबार