राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सभापति तथा निलम्बित सांसद रवि लामिछानेले काठमाडौं जिल्ला अदालतमा धरौटीबापतको रकम बुझाएका छन् । लामिछानेले प्रभु बैंकको बैंक ग्यारेन्टी धरौटीको रुपमा बुझाएका हुन् । बैंक जमानत बुझाएर उनी छुटेका छन् ।
स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आजमात्रै अदालतले आदेश दिएको थियो । थुनछेक बहसपछि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले सो आदेश दिएको हो ।
यसअघि गत शुक्रबार उनी कास्की जिल्ला अदालतमा ६५ लाख धरौटी बुझाएर छुटेका थिए । दुई अदालतमा गरी उनले एक करोड २५ लाख रुपैयाँ धरौटी बुझाएका छन् । रविविरुद्ध अझै तीन जिल्लामा अनुसन्धान हुन बाँकी छ ।
चितवन, रुपन्देही र पर्सामा पनि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनले अब तीनै जिल्लामा गएर अदालतमा बयान दिनुपर्नेछ । यसैगरी तीनै जिल्लामा थुनछेक बहस हुनेछ र उनलाई साधारण तारेख, धरौटी वा पुर्पक्ष के हुने भन्ने आदेश हुनेछ ।
काठमाडौं जिल्ला अदालतले कास्कीकै नजिर पछ्याउँदै धरौटीमा छाड्ने आदेश दिएको छ । धरौटी रकम पनि कास्कीले मागेको भन्दा पाँच लाख कम छ । अन्य जिल्लामा पनि यस्तै हुन्छ वा अन्य केही भन्न सकिँदैन । रविविरुद्ध इलाका प्रहरी कार्यालय बुटवलले अनुसन्धान गरेर रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाइसकेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले पनि उनी जोडिएको साहारा चितवन सहकारी प्रकरणमा अनुसन्धान गरिरहेको छ । कास्कीमा रवि धरौटी बुझाएपछि छुटेर आफैं काठमाडौंको अदालतमा हाजिर भएको हुँदा अन्य जिल्लामा पनि त्यही गर्ने अनुमान गरिएको छ ।
