२०८३ असार १५ , सोमबार 29, June 2026, Monday

नेपाल आइपुग्यो १७ लाख ७० हजार ४०० भाइल एचपीभी खोप

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८१ माघ २ गते बुधबार

पाठेघरको मुखको क्यान्सरविरुद्ध प्रयोग हुने ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप अभियानका लागि १७ लाख ७० हजार ४०० भाइल खोप ल्याइएको छ । सरकारले माघ २२ देखि फागुन ६ गतेसम्म सञ्चालन गर्न लागेको एचपिभी खोप अभियानका लागि थप खोप ल्याएको हो ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखाका प्रमुख डा अभियान गौतमले अभियानमा १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ७६८ जना किशोरीले निःशुल्क खोप पाउने जानकारी दिए ।

‘ग्लोबल एलायन्स फर भ्याक्सिन एन्ड इमुनाइजेसन’ (गाभी)को सहयोगमा चिनियाँ कम्पनी इनोभ्याक्सले उत्पादन गरेको सिकोलिन ब्रान्डको यो खोपको पाँचौँ खेप दुई लाख ६६ हजार ६३० भाइल खोप आइतबार चीनबाट हङकङ हुँदै काठमाडौँ आइपुगेको हो ।

खोप शाखा प्रमुख डा गौतमले किशोरीलक्षित यो कार्यक्रम विद्यालयकेन्द्रित हुने बताए । उनले १८ हजार ९०० वटा विद्यालयलाई खोपका लागि केन्द्र तोकिएको बताए । विद्यालयबाहेक आठ हजार २०० वटा केन्द्र तोकिएको छ । नेपालमा विभिन्न अनुसन्धानले वार्षिक दुई हजार नेपाली महिलाको ज्यान पाठेघरको मुखको क्यान्सरबाट जाने गरेको देखाएका छन् ।

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखाका भ्याक्सिन तथा कोल्डचेन एकाइ प्रमुख सञ्जीव कट्टेलले खोप कार्ड तथा रजिस्टरहरू पालिका तहसम्म वितरणको व्यवस्था मिलाइएको जानकारी दिए ।

प्रकाशित मिति : २०८१ माघ २ गते बुधबार