२०८३ असार १५ , सोमबार 29, June 2026, Monday

स्याउ किसानलाई सीप सिकाउँदै प्राविधिक

सत्यपाटीसत्यपाटी । जुम्ला । २०८१ माघ २ गते बुधबार

कृषि प्राविधिकहरु यतिबेला जुम्लाको तातोपानी गाउँपालिकाका स्याउका बिरुवा काँटछाँट तथा बगैँचा व्यवस्थापनमा जुटेका छन् । स्याउ उत्पादन बढाउन, बोटमा लाग्ने रोगको नियन्त्रण, मलजलको व्यवस्थापन लगायतका किसानलाई ज्ञान दिनका लागि प्राविधिकहरु स्याउ बगैँचामै पुगेका हुन् ।

प्राविधिकहरु बगैँचामै पुगेर किसानलाई सिकाउन थालेपछि किसान पनि खुसी भएको तातोपानी गाउँपालिका कृषि शाखा प्रमुख दीपा पौडेलले बताए । अधिकांश किसानले परम्परागत शैलीबाटै बिरुवा रोप्ने र स्याहर गर्दै आएकामा प्राविधिकले भने थप जानकारी दिने छन् । प्रमुख पौडेलले भने, ‘यहाँका किसानको स्याउ प्रमुख आम्दानीको स्रोत हो, स्याउखेतीको विस्तार तथा आवश्यक सीप र प्रविधिको सहयोग गर्नेका लागि पालिका सक्रियताका साथ लागेको छ ।’

प्राविधिकहरु बगैँचामै आएर सबै जानकारी दिन थालेपछि आफूहरुले पनि धेरै जानकारी प्राप्त गरेको तातोपानी–७ का किसान हस्त रावतले बताए । ‘परम्परागत खेतीबाट स्याउ मात्र होइन सबै बानीनालीको उत्पादन अपेक्षा गरेअनुसार भएको छैन, प्राविधिक आएर सिकाउँदा सबैलाई फाइदा हुन्छ,’ उनले भने ।

किसानको परिश्रम खेर नजाओस भनेर स्याउखेतीको थप प्राविधिक कुरा सिकाउन कृषि शाखाबाट कर्मचारी बगैँचामै पठाउने गरेको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले बताए । उनका अनुसार गाउँपालिका आठवटै वटामा कृषि प्राविधिक खटाइएको छ । जिल्लामा अहिले चार हजार २५० हेक्टर क्षेत्रफलमा स्याउखेती हुने गरेको कृषि विकास कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०८१ माघ २ गते बुधबार