सरकारले चालु आर्थिक वर्ष २०८१–०८२ का लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ८६७ रुपैयाँ ३८ पैसा निर्धारण गरेको छ । हालै बसेको मन्त्रीपरिषद्को बैठकले चालु आवका लागि गत वर्षको तुलनामा प्रतिक्विन्टल २१७ रुपैयाँ बढी गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको हो ।
गत आव २०८०–०८१ मा प्रतिक्विन्टल तीन हजार ६५० र आव २०७९–०८० मा प्रतिक्विन्टल तीन हजार ३५१ रुपैयाँ मूल्य निर्धारण भएको थियो । प्रत्येक वर्ष गहुँको समर्थन मूल्य बढ्दै गएको छ । गहुँको समर्थन मूल्य बढ्दा किसानलाई राहत हुने गर्छ । स्थानीय उत्पादनले माग धान्न नसक्दा बाहिरी मुलुकबाट समेत गहुँ आयात हुने गरेकोमा केही वर्षदेखि भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाएपछि गहुँको आयात हुन सकेको छैन ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार आव २०७९–०८० मा छ लाख ९७ हजार ७६२ हेक्टर क्षेत्रफलमा २० लाख ९८ हजार ४६२ मेट्रिक टन गहुँ उत्पादन भएको छ । यस्तै आव २०७८–०७९ मा सात लाख १६ हजार ९७८ हेक्टर क्षेत्रफलमा २१ लाख २७ हजार २७६ मेट्रिक टन गहुँ उत्पादन भएको छ ।
सत्यपाटी