सूचनाको शक्ति - The Power Of Information

        

आज केही क्षेत्रमा बर्षा र हिमपात, तराईमा बाक्लो हुस्सु र कुहिरो

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसका कारण देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । केही क्षेत्रमा हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमा महाशाखाका अनुसार बिहान पहाडी भू–भागमा आंशिक बदली छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ ।

महाशाखाले सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागमा वर्षा हुने सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ भने तराईका अधिकांश स्थानमा आज हुस्सु र कुहिरो लागेको छ ।

केही दिनदेखि तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लाग्दै आएको छ । विराटनगरमा आज बिहान ६०० मिटर भिजिविलिटी रहेको छ । ‘धनगढीमा ८०० मिटर, नेपालगन्जमा ८०० मिटर र भैरहवामा दुई हजार मिटर भिजिविलिटी छ,’ मौसमविद् हरिप्रसाद दाहालले भने । उनका अनुसार भोलिबाट हुस्सु र कुहिरो केही कम हुनेछ ।

बिहीबार आंशिक बदली रहेका कारण हुस्सु र कुहिरो आजको तुलनामा केही कम हुने उनको भनाइ छ । मंगलबार आजभन्दा धेरै हुुस्सु र कुहिरो लागेको थियो । हिजो बिहान भैरहवामा ५० मिटर, विराटनगरमा १०० मिटर, सिमरामा २०० मिटर भिजिविलिटी रहेको थियो । ‘आज अपराह्नसम्म हुस्सु र कुहिरो हट्नेछ । घाम लाग्दै जाँदा हुस्सु र कुहिरो पनि कम हुने र अपराह्नसम्म हट्नेछ,’ उनले भने ।

आजको न्यून भिजिविलिटीले पनि तराई क्षेत्रमा हवाई सेवा प्रभावित हुने सम्भावना छ । दुई हजार मिटरभन्दा तलको भिजिविलिटीमा विमान उडान तथा अवतरण गर्न कठिन हुन्छ । बाक्लो हुस्सु र कुहिरो लाग्दा चिसो बढेर जनजीवन प्रभावित हुँदै आएको छ । भिजिविलिटी कम हुँदा हवाई तथा सडक यातायात प्रभावित हुँदै आएको छ । हुस्सु र कुहिरो न्यून तापक्रम, नगन्य मात्रमा मात्रै बादल लाग्नु र हावा कम लाग्नु नै हुस्सु र कुहिरो लाग्नुको मुख्य कारण हो ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार ०८:२०

लोकप्रिय