चुरोटको हरेक खिल्लीको सेवनमा जिन्दगीको २० मिनेट आयु घटाउने निष्कर्ष वैज्ञानिकहरूले निकालेका छन् । युनिभर्सिटी कलेज, लन्डनको पछिल्लो अध्ययनले उक्त निष्कर्ष दिएको हो । अध्ययन अनुसार एक खिल्ली चुरोट सेवन गर्दा महिलाको जिन्दगीको २२ मिनेट र पुरुषको १७ मिनेट घट्छ । औसतमा यो २० मिनेट हुन्छ ।
यदि दैनिक कसैले १० खिल्ली चुरोट पिउँछ भने उसको जीवनको ३ घण्टा २० मिनेट कम हुन्छ । यसअघि यसको गणना सन् २००० मा प्रकाशित युनिभर्सिटी अफ क्यालिफोर्नियाको अध्ययनका आधारमा गरिँदै आएको थियो । उक्त अध्ययनले एक खिल्ली चुरोटले जिन्दगीको ११ मिनेट घटाउने निष्कर्ष निकालेको थियो ।
विश्व स्वास्थ्य संगठनका अनुसार चुरोट तानेकै कारण संसारका ८० लाखभन्दा मानिसको बर्सेनि अल्पायुमै मृत्यु हुन्छ । त्यसैले चुरोटको लत छाड्न ढिलाइ नगर्न आग्रह गरेका छन् । चिकित्सकहरूका अनुसार चुरोट छोड्ना साथ हाम्रो शरीरले रिकभरी शुरु गर्छ । र, ढिलो नै सही, त्यसको सकारात्मक परिणाम आउँछ ।
चुरोटले घटाउँदैछ जीवन
- एक खिल्ली चुरोटले औसतमा २० मिनट जीवन कम गराउँछ ।
- दैनिक १० चुरोट पिउँदा ३ घण्टा २० मिनट जीवन घट्छ ।
- त्यस हिसाबले हरेक साता २३ घण्टा ३३ मिनट जीवन कम भइरहेको हुन्छ ।
- र, हरेक वर्ष जिन्दगीको ५० दिन कम हुन्छ ।
- अनि, १० वर्षमा ५०० दिन जीवन घट्छ ।
चुरोट छोड्दा कति बढ्छ त ?
- एक खिल्ली चुरोट नपिउँदा २० मिनट जीवन सञ्चय हुन्छ ।
- दैनिक १० खिल्ली चुरोट नपिउँदा ३ घण्टा २० मिनट बच्छ ।
- .हरेक साता २३ घण्टा ३३ मिनट जीवन सञ्चय हुन्छ ।
- बर्सेनि ५० दिन जीवन सञ्चित हुन्छ ।
- र, १० वर्षमा ५०० दिन जीवन सञ्चय हुन्छ ।
सत्यपाटी संवाददाता । काठमाडौं