हाल देशको मौसमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ भने तराईका थोरै भूभागमा हुस्सु लागेको अवस्था छ ।
दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
साथै कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । यसबाहेक राति कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
भोलि माघ १ गते मङ्गलबार कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना साथै कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।
सत्यपाटी संवाददाता । काठमाडौं