सूचनाको शक्ति - The Power Of Information

        

हुम्लामा हिमपात, हवाइ उडान प्रभावित

हिमाली जिल्ला हुम्लामा हिमपात भएको छ । बिहान ७ बजेबाट जिल्ला सदरमुकाम सिमकोट र उत्तरी नाम्खा गाउँपालिकामा हिमपात भएको हो । पश्चिमी वायु प्रभावसँगै हुम्लामा पनि हिमपात भएको छ । सदरमुकाम सिमकोट हिमपात भएसँगै नेपालगन्ज र सुर्खेतबाट हुने हवाइ उडान रोकिएको छ । निजी क्षेत्रका हवाई सेवा हिमपातका कारण उडान भर्न सकेका छैनन् ।

उत्तरी नाम्खा गाउँपालिकाको लिमि अलि बढी हिँउ जमेको छ । हिमपात भएसँगै किसान भने खुसी भएका छन् । उनीहरू बाली सप्रिने आसमा खुसी भएका हुन् । नाम्खा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष पाल्जोर तामाङले हिँउ जमेपछि बालीनालीमा राम्रो हुने जानकारी दिए । योभन्दा पहिला बढी हिउँ परेको थियो, यस पटक अलि कमै हिँउ परेको तामाङको भनाइ छ ।

यस्तै आज राति कोशी, मधेस र बागमती प्रदेश लगायत देशको पहाडी भूभागमा साधारणतया बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी भूभागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । सदरमुकाम सिमकोटमा हिमपातसँगै चिसो पनि बढेको छ । यसअघि हुम्लामा गत कात्तिक र मंसीर महिनामा पनि महिनामा हिउँ परेको थियो ।

प्रकाशित मिति : २८ पुष २०८१, आइतवार १७:३५

लोकप्रिय