२०८३ असार १५ , सोमबार 29, June 2026, Monday

रवि लामिछाने न्यायिक हिरासतमा, भोलि थुनछेक बहस

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८१ पुस २८ गते आइतबार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउँदे न्यायिक हिरासतमा पठाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई सोमबार पुनः अदालत पेस गर्ने गरी प्रहरीको जिम्मा लगाउने आदेश दिएको हो ।

गत बिहीबार कास्कीको सूर्यदर्शन सहकारी ठगीमा धरौटीमा रिहा भएका लामिछानेविरुद्ध काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा मुद्दा दर्ता भएको थियो । सोही मुद्दाको बयानका लागि लामिछाने आइतबार आफैं अदालत हाजिर भएका थिए । लगत्तै न्यायाधीश अधिकारीको इजलासमा बयान भएको थियो ।

रास्वपा अनुशासन आयोगका पूर्वउप्रमुख समेत रहेका अधिवक्ता यज्ञमणी न्यौपानेका अनुसार आज थुनछेक बहस नभएपछि इजलासबाट प्रहरीकै जिम्मा लगाउने आदेश भएको हो । ‘बयान सकिँदा आज १५–२० मिनेटमात्रै समय बाँकी भयो,’ न्यौपानेले भने, ‘हामीले आजै थुनछेक बहसका लागि आग्रह गरेका थियौं । तर, श्रीमान्ले प्रहरीकै जिम्मा लगाउनुभयो ।’

उनका अनुसार, परिवार वा सरकारी वकिलको जिम्मा रविलाई छाड्न न्यायाधीश अधिकारीसँग आग्रह गरिएको थियो । यद्यपि उनले उक्त प्रचलन नभएको भन्दै प्रहरीकै जिम्मा दिनुपर्ने बताएको न्यौपानेले जानकारी दिए । न्यौपानेका अनुसार भोलि बिहान ११ बजेबाट थुनछेक बहस सुरु हुनेछ ।

प्रकाशित मिति : २०८१ पुस २८ गते आइतबार