अमेरिकाको लस एन्जलसमा डढेलोका कारण बस्तीसहित ३८ हजार एकडभन्दा बढी जमिन जलेर खरानी भएको छ । त्यसबाट हालसम्म ११ जनाको मृत्यु भएको छ । सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत सार्वजनिक तस्बिरहरूले यो विपत्ति कति ठूलो छ भन्ने स्पष्ट बुझ्न सकिन्छ । सयौँ घरहरू ध्वस्त भएका छन् ।
गाडीहरू जलेका छन् । र, एटीएम काउन्टरहरू भग्नावशेषमा परिणत भएका छन् भने हावाहुरीले रुखहरू ढलेका छन् । लस एन्जलसका अधिकारीहरूले स्थानीय स्वास्थ्य आपत्काल घोषणा गरेका छन् । र, वायुको गुणस्तर ‘निकै प्रदूषित’ रहेको बताएका छन् । यहाँको आकाश खरानीका सूक्ष्म कण र धुवाँले ढाकिएको छ ।
प्रशासनले मृतकको संख्या अझै बढ्न सक्ने जनाएको छ । लस एन्जलसका दशौँ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । आगो निभाउन हजारौँ अग्निनियन्त्रकहरू अहिले पनि लागिपरेका छन् । धेरै ठाउँमा डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । डढेलोपछि दुई लाख घरधुरीमा विद्युत् अवरुद्ध भएको छ ।
लस एन्जलस काउन्टीका शेरिफ रोबर्ट लुनाले सहर तथा बस्तीको भयावह अवस्था रहेको बताउँदै भनिन्, ‘यो क्षेत्रमा कसैले बम खसालेको जस्तो देखिन्छ ।’ प्यासिफिक पालिसेडमा आफ्नो जलेको घरको अगाडि उभिएर ग्रेग च्याम्पियनले पनि डढेलोले सम्पूर्ण क्षेत्रलाई आतंकित बनाएको बताइन् । उनले भनिन्, ‘यहाँको अवस्था बमले ध्वस्त पारेको जस्तो छ ।’
मौसम र जलवायु परिवर्तनको असरले आउँदा दिनमा पनि डढेलो लाग्ने क्रम जारी रहने विज्ञले आशंका व्यक्त गरेका छन् । अधिकारीहरूले पनि यो विपत्तिको पूर्वतयारीबारे तिखो प्रश्नहरूको सामना गरिरहेका छन् । क्यानडा सरकार संयुक्त राज्य अमेरिकालाई सहयोग गर्न अगाडि आएको छ । क्यानडाले आगो निभाउन अग्निनियन्त्रकका अतिरिक्त विशेष उपकरण पठाउँदैछ ।
अरू ६० हजार भवन जोखिममा परेका छन् । आगलागी र डढेलोका कारण व्यापक क्षति पुगेकाले बिमाअन्तर्गत ‘कभर’ गरिने कुल सम्पत्ति आठ अर्ब डलरभन्दा बढी हुने अनुमान गरिएको छ । लस एन्जलस काउन्टीमा शुक्रबार करिब एक लाख ४४ हजार मानिसलाई घर खाली गर्न आदेश दिइएको छ । यीमध्ये अधिकांश मानिसले आफूले बोक्न सक्ने सामान लिएर घर छोडेका छन् । यसबाहेक एक लाख ६६ हजार बासिन्दालाई उनीहरूले चाँडै आफ्नो घर छोड्नुपर्ने हुनसक्छ भनी चेतावनी दिइएको छ ।
आगोबाट आक्रान्त बनेको लस एन्जलस र वरपरका क्षेत्रमा क्यालिफोर्नियाको नेसनल गार्डका सैनिकलाई परिचालन गरिएको अधिकारीले बताएका छन् । संयुक्त राज्य अमेरिकाको दोस्रो ठूलो सहरको धेरै भाग भग्नावशेषमा परिणत भएका बेला क्यालिफोर्नियाको नेसनल गार्डका सैनिकलाई परिचालन गरिएको हो । आगो निभाउने अभियान रातभर पनि चलिरहेको छ । पानी छर्कने हेलिकोप्टरका चालकले हावाको सुस्तताले आगो निभाउने अभियानलाई साथ दिएको बताएका छन् । तर, नयाँ डढेलो निस्कने क्रम जारी छ ।
लस एन्जलस काउन्टीका शेरिफ रोबर्ट लुनाले रातको समयमा पनि राज्यको नेसनल गार्डका हजारौँको संख्यामा सेनाका सदस्य र सरकारी कर्मचारीले प्रभावित क्षेत्रमा गस्ती गरिरहेको बताएकी छन् । गभर्नर गेभिन न्युसमले भने, ‘हामी आगामी दिनमा समुदायको सुरक्षाका निम्ति नेसनल गार्ड सेवाका सदस्यसहित सबै तैनाथ गरिरहेका छौँ । यसले सहरमा हुन सक्ने सम्भावित लुटपाटका घटनालाई नियन्त्रण गर्न सकिनेछ ।”
लुनाका अनुसार, अधिकारीहरूले उद्धार क्षेत्रमा गस्ती गरिरहेका छन् । र, त्यहाँ नबस्ने जो कोहीलाई पनि परिचयपत्रका आधारमा पक्राउ गर्नेछन् । सबैभन्दा ठूलो डढेलो प्यासिफिक पालिसाडेस आसपासको करिब २० हजार एकड (आठ ८०० हेक्टर) क्षेत्रमा फैलिएको छ । अल्टाडेना वरपरको अर्को डढेलोले १३ हजार ७०० एकड जमिन जलेर नष्ट भएको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । लस एन्जलस