सूचनाको शक्ति - The Power Of Information

        

यी प्रदेशमा हल्का वर्षादेखि हिमपातको सम्भावना

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

शनिबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।

साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । बिहानको समयमा देशका तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

आइतबार पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित मिति : २७ पुष २०८१, शनिबार ०७:२३

लोकप्रिय