सूचनाको शक्ति - The Power Of Information

        

दुम्कीबासमा पुल भाँचिँदा पूर्व-पश्चिम राजमार्गमा यातायात अवरुद्ध

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको दुम्किबासमा पुल भाँचिदा सवारी आवागमन बन्द भएको छ । अत्यधिक भारसहितको भारतीय मालवाहक लरीका कारण दुम्कीबासको जीर्ण पुल भाँचिदा पूर्व–पश्चिम राजमार्गमा यातायात नै अवरुद्ध भएको हो ।

विनयी खोलामा बनेको पुल शुक्रबार साँझ साढे ५ बजेतिर भाँचिएको हो । डाइभर्सन निर्माण नगरेसम्म यातायात ठप्प हुने प्रहरीले जनाएको छ । पूर्वी नवलपरासीमा रहेकामध्ये विनयी खोलामा बनेको यो सबैभन्दा लामो पुल हो ।

नवलपुरका प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले प्रहरी र चाइना स्टेट कम्पनीलाई डाइभर्सन निकाल्न भनिएको र तत्काल बाटो खुल्ने अवस्था नरहेको बताए । भारतीय हेबी ट्रक एन एल ०१ ए एच ५१७९ नम्बरको ट्रक पुलबाट पास हुने क्रममा पुल एक्कासी भाँचिएको हो ।

राजमार्ग खुलाउन तीन वटा वैकल्पिक बाटो प्रयोग

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीस्थित विनयी खोलाको दुम्कीबासमा पुल भाँचिएपछि अवरुद्ध सवारी आवागमनका लागि वैकल्पिक बाटोको प्रयोग गर्न थालिएको छ । नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार अहिले तीनवटा वैकल्पिक बाटोबाट सवारी आवागमन भइरहेको छ ।

उनका अनुसार विजयी त्रिवेणी गाउँपालिका–२ ज्यामिरेबाट भित्रि बाटो त्रिवेणी चोक हुँदै गुम्बाचोकबाट राजमार्गमा निस्कने एउटा रुट प्रयोग भएको छ । जुन रुट अहिले चलिरहेको राजमार्ग भन्दा ५ किलोमिटर लामो पर्न जान्छ । त्यस्तै, ठूला सवारी साधन ज्यामिरे पेट्रोलपम्प हुँदै सिजीचोक, डाँडाचौर, होङ्सि गेटमा पुग्ने अर्को बाटो प्रयोग गरिएको छ । उक्त बाटो १८ किलोमिटर लामो पर्न जाने सीडीओ पोखरेलले बताए ।

प्रकाशित मिति : २६ पुष २०८१, शुक्रबार २०:२५

लोकप्रिय