गुल्मीमा व्यावसायिक किबीखेतीमा किसानको आकर्षण बढ्दै गएको छ । जिल्लाको सत्यवती गाउँपालिका–८ अन्तर्गत भार्सेका किसानले किबी बिक्री गरेर वार्षिक ८० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न थालेका छन् । २०६५ सालदेखि किबी लगाउन थालेका त्यहाँ किसानको बारी यतिबेला किबीका लहराले ढपक्कै ढाकेको छ ।
भार्सेका किसान यतिबेला किबीको व्यावसायिक उत्पादन सुरु गरेपछि उनीहरूको आर्थिकस्तर समेत वृद्धि हुँदै जान थालेको छ । जिल्लामा सबैभन्दा धेरै किबी उत्पादन गर्ने पालिकामा सत्यवती गाउँपालिका पर्छ । सत्यवतीको भार्सेमा हाल ४० हेक्टर क्षेत्रमा किबीको व्यावसायिक रूपमा उत्पादन हुँदै आएको छ ।
यो वर्ष त्यहाँका किसानले ८० टनभन्दा बढी किबी उत्पादन गरेको स्थानीय किसान एवं वडा सदस्य यमबहादुर थापाले जानकारी दिए । भार्सेमा उत्पादित किबी स्थानीय बजार तथा पाल्पा र बुटवलसम्म पुग्ने गर्छ । बजारमा उपलब्ध किबीको तुलनामा भार्सेमा उत्पादित किबीको औषत मूल्य २०० रुपैयाँ छ । यहाँका किसानको मुख्य आम्दानी यतिबेला किबीखेती बनेको छ ।
सत्यवती गाउँपालिकाले भार्सेलाई किबीको पकेट क्षेत्र घोषणा गरेसँगै किबी उत्पादनमा स्थानीयको आकर्षण बर्सेनि बढ्दै गएको हो । किबीखेतीको व्यावसायिक उत्पादनका लागि किसानलाई गाउँपालिकाबाट प्राविधिक सहयोगदेखि तालिम, बिरुवा, पोल निर्माण र सिँचाइ लगायत क्षेत्रमा सहयोग गर्दै आएको गाउँपालिका अध्यक्ष टीकाराम सापकोटाले बताए ।
यस वर्ष पनि गाउँपालिकाबाट नर्सरी स्थापना, बगैँचा व्यवस्थापनसँगै किबीको जाम र वाइन बनाउने तालिम प्रदान गरिसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालले जानकारी दिए । भार्सेका किसान यमबहादुर थापाले व्यावसायिक रूपमा किबीखेती गर्दै आएका छन् । उनले लगाएका १५० बोटमध्ये १३० बोटले फल दिन थालेको बताए ।
यसपटक थापाले २५ क्विन्टल किबी स्थानीय बजार हुँदै पाल्पा र बुटवलसम्म बिक्रीका लागि पठाइसकेका छन् । गत वर्षको तुलनामा यसपटक उत्पादन बढेसँगै किबीको मूल्य घटेको उनको भनाइ छ । उनको बारीमा ‘रेडकिबी’, ‘हेवार्ड’, ‘एलिसन’, ‘ब्रुनो’ गरी चार जातका किबी रहेका छन् । अन्य खेतीको तुलनामा किबीबाट राम्रो आम्दानी हुने उनको अनुभव छ ।
यीमध्ये एलिसन जातको किबी मीठो र स्वादिलो हुने थापाले बताए । सिजनमा भार्सेका बारी किबीले ढपक्कै ढाकिएका हुन्छन् । किबीको बिरुवाले रोपेको तीन वर्षबाटै फल दिन सुरु गर्दछ । यसले एउटै बोटबाट ६० देखि १२० किलोसम्म फल दिने गरेको वडाध्यक्ष होमबहादुर रानाले बताए । बाँदर, बँदेल र चराचुरुङ्गीबाट अन्य खाद्य बाली जोगाउन समस्या परेको अवस्थामा किबीखेती त्यहाँका किसानका लागि वरदान सावित भएको छ ।
किबी बढी झुसिलो हुने भएका कारण पनि अन्य वन्यजन्तु टाढै बस्ने गरेको बताइएको छ । गुल्मीमा एक हजार २०० मिटरदेखि दुई हजार मिटर उचाइसम्म किबीखेती गरिँदै आएको छ । गुल्मीमा सत्यवती गाउँपालिका लगायत कालीगण्डकी, मदाने, मालिका, धुर्कोट, छत्रकोट लगायत पालिकामा किबीको व्यावसायिक खेती गर्न थालिएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । गुल्मी