सूचनाको शक्ति - The Power Of Information

        

रविको मुद्दामा आज थुनछेक आदेश, अदालत आसपास सुरक्षा व्यवस्था कडा

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आज (बिहीबार)सम्म थुनछेक आदेश आउने सम्भावना बढेको छ । प्रतिवादीतर्फको बहस अन्तिम चरणमा पुगेकाले आज जवाफी बहस सकेर थुनछेक आदेश आउने सम्भावना बढेको हो ।

सरकारी वकिल कार्यालय कास्कीकी प्रमुख, न्यायाधिवक्ता कमला काफ्लेले पनि बिहीबार साँझसम्म अदालतबाट थुनछेक आदेश आउने अपेक्षा गरिएको बताइन् । ‘आज फस्र्ट आवरमा जवाफी बहस पनि सकिन्छ र साँझसम्म आदेश आउने अपेक्षा हामीले गरेका छौं,’ उनले भनिन् ।

मंगलबार मात्रै प्रतिवादीमध्ये गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्षका कानून व्यवसायीले बहस सकेका थिए । बुधबार प्रतिवादीहरू रामबहादुर खनाल, कृष्ण गुरुङ, मीना गुरुङ र आरती गुरुङका कानून व्यवसायीले बहस गरेका हुन् ।

साथै, जाहेरवालाका तर्फबाट पनि बहस हुँदैछ । थुनछेकको आदेश नजिकिँदै गर्दा जिल्ला प्रशासन कार्यालय कास्कीले राष्ट्र बैंक चोक, वाई चोक र शहीद चोक क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ । त्यहाँ सवारी आवागमनमा समेत रोक लगाइएको छ । कान्छा न्यायाधीश नितिज राईको इजलासमा भइरहेको बहस सकिएपछि थुनछेक आदेश आउने छ ।

थुनछेकमा अदालतले पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा रिहा गर्नेमध्ये एक आदेश गर्नसक्छ । पुर्पक्षका लागि कारागार पठाउने आदेश भएमा रवि आज नै जेल चलान हुनेछन् भने अन्य आदेशमा बाहिरै बसेर मुद्दा लड्न सक्नेछन् ।

जिल्ला सरकारी वकिल कार्यालय कास्कीले रास्वपा सभापति रवि लामिछानेसहित ४४ जनाविरुद्ध १ अर्ब ५१ करोड ४० लाख १९ हजार १०० रुपैयाँ ९४ पैसा बिगो माग दाबीसहित जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । प्रतिवादीमध्ये रविविरुद्ध मात्रै सम्पत्ति शुद्धीकरण मुद्दामा २७ करोड ८९ लाख बिगो माग दाबी गरिएको छ ।

सरकारी वकिल कार्यालयले अदालतमा लगेको अभियोगपत्रमा रविविरुद्ध सहकारी ठगी मुद्दामा ३ करोड ३७ लाखको बिगो माग दाबी गरिएको छ । अर्का प्रतिवादी छविलाल जोशीविरुद्ध सहकारी ठगी र सम्पत्ति शुद्धीकरणमा ७४ करोड ३४ लाख ७१ हजार ५५ रुपैयाँ ५२ पैसा बिगो माग दाबीसहित मुद्दा दायर गरिएको थियो ।

प्रकाशित मिति : २५ पुष २०८१, बिहीबार ०८:०१

लोकप्रिय