देशका धेरै ठाउँको मौसम आज मुख्यतया सफा रहनेछ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकोले पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रहेको छ ।
यस्तै पश्चिम तराईका केही ठाउँहरूमा हुस्सु र कुहिरो लागेको छ । आज कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावना छ ।
यसैबीच गएको २४ घण्टामा विभिन्न ठाउँमा मध्यमदेखि हल्का वर्षा भएको छ । सबैभन्दा धेरै सङ्खुवासभामा १५ दशमलव २ मिलिमिटर वर्षा मापन भएको महाशाखाले जनाएको छ । काठमाण्डु उपत्यकाका केही ठाउँमा पनि हल्का वर्षा भएको छ ।
बिहीबार पनि कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।