सूचनाको शक्ति - The Power Of Information

        

चीनमा शक्तिशाली भूकम्प, नेपालमा कति भयो क्षति ?

भूकम्पको ठूलो धक्का महसुस गरिएको छ । मंगलबार बिहान ६ बजेर ५१ मिनेटमा भूकम्पको धक्का नेपालमा पनि महसुस गरिएको हो । भूकम्प गएपछि मानिसहरु चिसोको परवाह नगरी होहल्ला गर्दै सडकमा निस्किएका छन् । आज बिहान नेपालमा महसुस भएको भूकम्पको केन्द्रविन्दु नेपाल–चीन सिमाना तिब्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ ।

भूकम्पको धक्का भारत र बंगलादेशसम्म पनि महसुस गरिएको छ । खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् भरत कोइरालाले उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको जानकारी दिए । त्यसले नेपालका प्रायः ठाउँमा धक्का दिएको छ । तिब्बत क्षेत्रका साथै नेपालको पूर्वदेखि मध्य क्षेत्रमा ठूलो धक्का दिएको हो ।

नेपालका भूगर्भविदहरुका अनुसार लोबुचे हिमालबाट ९३ किलोमिटर उत्तरतिर र तिब्बतको सिगात्सेबाट २८ किलोमिटर दुरीमा भूकम्पको इपिसेन्टर छ । खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् कोइरालाले भूकम्पको केन्द्रविन्दु र नेपालको दूरी ९३ किलोमिटर रहेको बताए । यससँग नजिकका नेपालका जिल्ला ताप्लेजुङ, सोलुखुम्बु, संखुवासभा र दोलखा रहेका छन् ।

ती जिल्लामा भूकम्पको क्षतिको विवरण भने आइसकेको छैन । स्थानीय प्रशासनले विवरण संकलनको काम गरिरहेका छन् । सोलुखुम्बुका प्रहरी प्रवक्ता इन्स्पेक्टर लक्ष्मण गिरीले ठूलो धक्का महसुस भएको र क्षति भए–नभएको बारेमा बुझ्ने काम भइरहेको बताए । भूकम्पले नेपालमा क्षति पुगे नपुगेकोबारे विवरण संकलनको काम भइरहेको अधिकारीहरुले बताएका छन् ।

यससँग नेपालका नजिकका जिल्ला सोलुखुम्बु, संखुवासभा, दोलखा र ताप्लेजुङ पर्दछन् । ती जिल्लाका अधिकारीहरुले भूकम्पको कडा धक्का महसुस भएको र क्षति भए नभएकोबारे बुझ्ने काम भइरहेको जनाएका छन् । स्थानीय तह र प्रहरी फौज रहेको स्थानहरुमा बुझ्दा अहिलेसम्म क्षतिको विवरण भने नआएको उनीहरुले बताएका छन् ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले भूकम्पले क्षति भयो कि भएन भनेर सबै स्थानीय तह र प्रहरी इकाइमा सम्पर्क गर्ने काम जारी रहेको बताए । सम्पर्क भएका स्थानमा भने अहिलेसम्म क्षतिको जानकारी नभएको उनले बताए । प्रमुख जिल्ला अधिकारी शर्माले भने, ‘अहिलेसम्म प्राप्त सूचनामा ताप्लेजुङमा कुनै पनि प्रकारको मानवीय र भौतिक क्षति छैन भन्ने छ । यद्यपि थप भेरिफाइ पनि गर्दैछौं ।’

उनले घुन्सा लगायतका क्षेत्रमा पनि बुझ्ने काम भइरहेको जानकारी दिए । संखुवासभाका प्रहरी प्रमुख दक्ष कुमार बस्नेतले पनि जिल्लामा क्षतिको विवरण प्राप्त नभएको बताए । सूचनाको पहुँच भएको क्षेत्रसम्म बुझ्दा क्षतिको जानकारी नभएको उनले बताए । ‘जिल्लामा सञ्चार सम्पर्क नहुने क्षेत्र पनि छन्, ती क्षेत्रको अवस्थाको जानकारी त छैन, तर जहाँ–जहाँ सम्पर्क भएको छ, त्यहाँ भने क्षतिको जानकारी छैन,’ डिएसपी बस्नेतले बताए ।

यस्तै दोलखा प्रहरीका प्रवक्ता दाताराम अधिकारीले पनि क्षतिको विवरण प्राप्त नभएको बताए । उनका अनुसार दोलखामा च्छोरोल्पा हिमताल र लामाबगर अति जोखिमयुक्त क्षेत्र मानिन्छन् । ती स्थानमा अहिलेसम्म भूकम्पले क्षति भएको जानकारी नआएको अधिकारीले बताए । ‘च्छोरोल्पा हिमताल फुट्ने र लामाबगर क्षेत्रमा सुक्खा पहिरो खस्ने जोखिम रहन्छ । तर प्रहरी फौज भएको स्थानसम्म बुझ्दा अहिलेसम्म क्षतिको जानकारी छैन,’ अधिकारीले भने ।

नेपाल–चीन सीमा क्षेत्रमा रहेका हिमतालहरु जोखिमयुक्त मानिन्छन् । यदि ती विष्फोट भएमा तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुग्ने विज्ञहरु बताउँछन् । त्यस्ता सम्भावित जोखिमका क्षेत्रमा थप सूचना संकलन र अलर्ट रहन मातहतका प्रहरीलाई भनिएको प्रहरी प्रवक्ता अधिकारीले बताए । सोलुखुम्बुका प्रहरीका प्रवक्ता गिरीले अहिलेसम्म क्षतिको विवरण प्राप्त नभएको बताए । ‘बुझ्ने काम जारी छ, तर अहिलेसम्म क्षतिको विवरण आइसकेको छैन,’ उनले भने ।

भूकम्पले राजधानी काठमाडौंमा पनि कडा धक्का महसुस भएको थियो । एकाबिहानै भूकम्प गएपछि काठमाडौंबासी घर बाहिर निस्किएर खुला ठाउँमा गएका थिए । काठमाडौंमा पनि क्षतिको विवरण प्राप्त नभएको नेपाल प्रहरीको कन्ट्रोल रुमका कर्मचारीहरुको भनाइ छ । केही समययता पश्चिम नेपालमा पनि निरन्तर भूकम्प गइरहेको छ । नेपालमा विसं २०७२ वैशाख १२ गते ७.६ म्याग्निच्युडको भूकम्प गोरखा केन्द्रबिन्दु भएर गएको थियो ।

भूकम्पबाट चीनमा कम्तीमा ९ जनाको मृत्यु

नेपाल–चीन सीमा क्षेत्रमा गएको भूकम्पबाट चीनमा कम्तीमा ९ जनाको मृत्यु भएको छ । केही घरहरु भत्किएका छन् । चीनको सरकारी टेलिभिजन च्यानल सीजीटीएनले सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै ९ जनाको मृत्यु भएको जनाएको छ । आज बिहान नेपाली समय अनुसार ६ बजेर ५० मिनेटमा चीनको जिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँमा केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको थियो । भूकम्पको धक्का नेपालमा समेत महसुस भएको थियो ।

नेपालको भूकम्प मापन केन्द्रले ७ म्याग्निच्युडको भूकम्प गएको रेकर्ड राखे पनि चीनको भूकम्प नेटवर्क केन्द्रले ६.८ तीव्रता मापन गरेको छ । यो भूकम्प १० किलोमिटर गहिराइमा थियो । चिनियाँ सञ्चार माध्यमहरुका अनुसार भूकम्पका कारण दिङ्गी काउन्टीको चाङ्गसुओ क्षेत्रका गाउँमा घरहरु भत्किएका छन् । चीनको भूकम्प नेटवर्क केन्द्रका अनुसार आज भूकम्प गएको स्थानदेखि २०० किलोमिटर वरपरको क्षेत्रमा विगत पाँच वर्षको अवधिमा ३ म्याग्निच्युड माथिका २९ वटा भूकम्प गएको रेकर्ड छ । तर आज बिहानको भूकम्प सबैभन्दा शक्तिशाली हो ।

प्रकाशित मिति : २३ पुष २०८१, मंगलवार ०९:५८

लोकप्रिय