सूचनाको शक्ति - The Power Of Information

        

को को तानिदैछन् वाइडबडीको अनुसन्धानमा ?

वाइडबडी घुस प्रकरणमा अमेरिकाले मागेको विवरण नेपाल सरकारले उपलब्ध नगराएको स्रोतले बताएको छ । नेपाल वायुसेवा निगमले सात वर्षअघि दुईवटा वाइडबडी विमान खरिद गर्दा भएको घोटाला सम्बन्धमा अमेरिकी सरकारले चासो दिँदै नेपालका उच्च पदस्थ व्यक्तिहरूको विवरण मागेको भए पनि नेपाल सरकारले उपलब्ध नगराएकोले यसमा ठुलो व्यक्तिको संलग्नता पुष्टि गर्छ ।

एक वर्षअघि अमेरिकी दूतावासमार्फत कानुन मन्त्रालयलाई पत्र लेख्दै त्यसबारे चासो दिइएको थियो । कानुन मन्त्रालय उच्च स्रोतका अनुसार सो विमान खरिद प्रकरणमा मुछिएका १५ व्यक्तिको विवरण र खरिद प्रकरणमा उनीहरूको भूमिकाबारे कानुनी राय पनि पत्रमार्फत मागिएको थियो । विभिन्न राजनीतिक दलका नेताहरूसहित केही सत्तानिकट विचौलिया व्यापारीहरूको विवरण मागेको स्रोतले बताएको छ ।

नेपाल सरकारले विवरण उपलब्ध नगराएपछि अमेरिकी सरकारले आफै अनुसन्धान गरेर उक्त घोटालामा को को संलग्न छन् भन्ने कुरा पत्ता लगाएको स्रोतले जनाएको छ । उक्त स्रोतका अनुसार आज पुस २३ अर्थात् जनवरी ६ तारिखमा न्यूयोर्कस्थित युएस सेक्युरिटी एण्ड एक्सचेन्ज कमिशनले प्रतिवेदन सार्वजनिक गर्ने भएको छ ।

अमेरिकी नियामक निकाय ओभरसाइट नियामक निकाय एसईसीले अनुसन्धान गरेको रिपोर्टमा वाइडबडी विमान खरिदको रकम हङकङस्थित दिपक मल्होत्राको पार्टनर रमेशकुमार सावर्थियाको खातामा जम्मा भएको जनाएको छ । उक्त कमिशन जम्मा गर्न सावर्थियाको नाममा ड्याजल डिजाइन लिमिटेड कम्पनी खडा गरेका थिए ।

उक्त कम्पनीमा एक पटक ४० लाख, अर्को पटक साढे २ लाख जम्मा भएको थियो । स्रोतका अनुसार उक्त रकम दिपक मल्होत्रामार्फत नेपालका नेता, कर्मचारीलाई व्यवस्थापन गरिएको थियो । यस विषयमा अख्तियारले पनि छानबिन गरिरहेको छ । अख्तियार स्रोतका अनुसार ‘वाइडबडी’ खरिदको कमिसन कुन कुन नेता, कार्यकर्ताले प्राप्त गरे भन्ने विवरण अख्तियारले अमेरिकी सरकारसँग मागेको छ ।

दिपक मल्होत्राको प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि राम्रो सम्बन्ध छ । उनकै सल्लाहमा ओलीले गिरिबन्धु टि स्टेटको जग्गा सट्टापट्टा गर्ने कानुन निर्माण गरेका थिए । स्रोतका अनुसार दिपक मल्होत्राले हङकङबाट प्रदीप शम्शेर राणाकी छोरीको नाममा दुवईमा खोलिएको टार्गेट इन्भेस्टमेन्ट कम्पनीमा १० लाख अमेरिकी डलर ट्रान्सफर गरेको स्रोतको भनाइ छ ।

प्रदीप शम्शेर राणा परराष्ट्रमन्त्री आरजु राणानिकट कमिसन एजेन्ट हुन् । राणाले आरजुकै नामबाट ठेक्कापट्टा हात पार्दै आएका छन् । नाताले राणा आफूलाई शेरबहादुर देउवाको साला भन्छन् । यही आधारमा आरजु राणा देउवाको कमिसन दुवईस्थित सालिनी राणाको खातामा जम्मा भएको आशंका गरिएको छ । यस काण्डको प्रतिवेदन पूर्णरुपमा आएमा नेपालका शक्तिशाली नेताहरू जेल जाने सम्भावना देखिन्छ । वाइडबडी खरिद काण्डमा १५ जनामाथि अनुसन्धान भइरहेको स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २३ पुष २०८१, मंगलवार ०९:०२

लोकप्रिय