सूचनाको शक्ति - The Power Of Information

        

नेपालमा २२ दिनमा ११ भूकम्प, काठमाडौँमा विहानै धक्का

काठमाडौँ उपत्यकामा पाँचौ दिनपछि पुनः मंगलबार बिहान भूकम्प गएको छ । चीनको तिब्बत क्षेत्र केन्द्रबिन्दु भएर मंगलबार (आज) बिहान ६ बजेर ५० मिनेटमा नेपालमा ७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीले जानकारी दिए ।

यसको केन्द्रबिन्दु भने चीनको सिजाङ स्वायत्त क्षेत्रको सिगात्से सहरको डिङ्ग्री काउन्टीनजिक रहेको चाइना भूकम्प नेटवर्क सेन्टर (सीइएनसी)ले त्यहाँ भने ६.९ म्याग्नीच्युडको भूकम्प मापन भएको छ । यसअघि पुस १८ गते मात्र सिन्धुपाल्चोकको माझीटार केन्द्रबिन्दु बनाएर ४.८ म्याग्निच्युडको भूकम्प जाँदा पनि काठमाडौँ उपत्यकासम्म धक्का महसुस भएको थियो ।

नेपालमा २२ दिनमा ११ भूकम्प

आज (पुस २२ गते) २२ दिनभित्र नेपालमा ११ भूकम्प गएका छन् । पुस लागेयता लगातारजसो भूकम्प गइरहेको छ । सुरुमा पुस २ गते बझाङको धामेना आसपास केन्द्रबिन्दु बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो भने लगत्तै पुस ३ गते बझाङको धामेनालाई नै केन्द्रबिन्दु बनाए ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

यसपछि पुस ४ गते मनाङको नेस्याङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प गयो भने पुस ६ गते बाजुराको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रबिन्दु बनाएर ५ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको थियो । पुस ६ को भूकम्पले बाजुरामा दर्जनभन्दा बढी घर भत्काएको÷चर्काएको थियो ।

यस्तै पुस ९ गते दार्चुलाको अपी हिमाल आसपास केन्द्रबिन्दु बनाएर ४ म्याग्निच्युड र पुस ११ गते जाजरकोट नायकवाडा केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । यसपछि पुस १२ गते राति ११ बजेर ३७ मिनेटमा कालिकोटको लाली आसपास केन्द्रबिन्दु बनाएर ३.७ म्याग्निच्युडको भूकम्प गएको थियो ।

यस्तै पुस १६ गते बिहान बैतडीको सिगास गाउँपालिकाको न्वाघर केन्द्रबिन्दु बनाएर ४.६ म्याग्निच्युडको भूकम्प गएको थियो । यसपछि पुस १८ गते सिन्धुपाल्चोकको माझीटार केन्द्रबिन्दु बनाएर ४.८ म्याग्निच्युडको भूकम्प गयो । यस्तै पुस १९ गते मुगुको लुमा क्षेत्र केन्द्रबिन्दु बनाएर ४.४ म्याग्निच्युडको भूकम्प गयो । अनि आज पुस २२ गते चीन केन्द्रबिन्दु भएर काठमाडौँसहित नेपालको मध्य र पूर्वी पहाडी क्षेत्र हल्लाउने गरी ७ म्याग्निच्युडको भूकम्प गयो ।

प्रकाशित मिति : २३ पुष २०८१, मंगलवार ०८:४६

लोकप्रिय