सूचनाको शक्ति - The Power Of Information

        

चिसोसँगै काठमाडौं उपत्यकाको वायु प्रदूषण बढ्यो

अत्यधिक चिसो भएसँगै काठमाडौं उपत्यकाको वायु प्रदूषण पनि बढेको छ । ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई)का अनुसार आज काठमाडौँ उपत्यकाको वायु प्रदूषण २०५ एक्यूआई छ । वातावरणविद् भुषण तुलाधारका अनुसार गर्मीयामको तुलनामा चिसो मौसममा वायु प्रदूषणको सम्भावना बढी हुन्छ ।

‘चिसो मौसममा हावा जमिनकै सतहमा लामो समयसम्म रहने भएकाले प्रदूषणको सम्भावना बढी हुन्छ, दिउँसो घाम लागेर तापक्रम बढ्दै जाँदा हावामा प्रदूषण फैलन्छ,’ उनले भने । त्यसबाहेक चिसोमा फोहोर, टायर तथा दाउरा जलाउने चलनले पनि प्रदूषण बढाउन सहयोग गर्ने उनको भनाइ छ ।

एक्यूआईका अनुसार आज काठमाडौं उपत्यका विश्वको पाँचौ प्रदूषित सहरमा परेको छ । उक्त सूचीको शीर्ष स्थानमा पाकिस्तानको लाहोर छ । लाहोरको एकयुआई ३४१ एक्यूआई छ । साथै दोस्रो स्थानमा रहेको भारतको कोलकातको एक्यूआई २४८, तेस्रो स्थानमा मंगोलियाको उलानबाटरको एक्यूआई २३८ छ । साथै चौथो स्थानमा रहेको प्रदूषित सहर भारतको नयाँ दिल्लीको एक्यूआई २२७ एक्यूआई छ ।

विपद व्यवस्थापनविद् डा धर्मराज उप्रेतीका अनुसार शून्यदेखि ५० सम्मको एक्यूआईलाई राम्रो मानेर हरिया संकेत दिइन्छ । साथै ५१ देखि १०० सम्मको एक्यूआईले होसियार रहन संकेत गर्छ । १०१ देखि १५० सम्मको एक्यूआई हुँदा श्वासप्रश्वासमा समस्या हुने र मुटु रोगीका लागि खतरा मानिन्छ । उनका अनुसार १५१ देखि दुई सयसम्मको एक्यूआईलाई अस्वस्थ र त्यसभन्दा माथि वायु प्रदूषण भएमा अत्यधिक अस्वस्थ भएको मानिन्छ ।

काठमाडौं उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ मा पनि नेपाल सरकारले निर्धारण गरेको एक्यूआईको मान ३०० भन्दा बढी भएको अवस्थालाई विपद्को रुपमा लिने उल्लेख छ । उक्त विपद् रोक्न कार्ययोजनामा फोहोर बाल्ने कार्य रोक्ने, सडक सफा गर्न ब्रमुर तथा भ्याकुमको प्रयोग व्यापक गर्ने, बालबालिका, ज्येष्ठ नागरिक, बिरामीहरुलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्न कार्ययोजनामा उल्लेख छ ।

राष्ट्रिय वातावरण नीति, २०७६ अनुसार प्रदूषण न्यूनीकरणका लागि जल, वायु, माटो, ध्वनि, विद्युत्–चुम्बकीय तरंग, रेडियोधर्मी विकिरण, जोखिमपूर्ण रासायनिक प्रदूषण रोकथामसम्बन्धी राष्ट्रिय मापदण्ड तयार गरी कार्यान्वयन गरिने सरकारी रणनीति छ । प्रमुख सहर, औद्योगिक प्रतिष्ठान लगायत प्रदूषणको जोखिममा रहेका क्षेत्रमा गुणस्तर मापन केन्द्र स्थापना र सञ्चालन गर्दै वायु, जल, ध्वनि गुणस्तरको नक्शांकन गरिने रणनीतिमा उल्लेख छ ।

प्रकाशित मिति : २२ पुष २०८१, सोमबार १३:२०

लोकप्रिय