२०८२ मंसिर २९ , सोमबार 15, December 2025, Monday

एमालेको पार्टी एकताको प्रस्ताव नेकपा एसद्वारा अस्वीकार

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८१ पुस २३ गते मंगलबार

नेकपा एमालेले पार्टी विभाजन भएर गएकाहरुलाई फर्किन गरेको आग्रहलाई माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले अस्वीकार गरेको छ ।

एमालेको आज टुंगिएको केन्द्रीय कमिटीको बैठकले निर्णायक राष्ट्रिय शक्ति निर्माण अभियानलाई सफल बनाउन पार्टी विभाजन लगायतका कारणले पार्टी बाहिर रहेका सबै नेता र स्वतन्त्र ढङ्गले क्रियाशील रहेकाहरूलाई एमालेमा फर्कन आग्रह गरेको थियो ।

एमालेले पार्टी फोडेर अलग भएकाहरुलाई फर्किन आग्रह गरेपछि माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीका प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले आफूहरु वामपन्थी एकताको पक्षमा सधैं खुला रहे पनि एमालेको प्रस्तावलाई अस्वीकार गर्ने बताए ।

उनले भने, ‘उहाँहरुले अहिले फर्की भन्दैमा फर्किने कुरा हुँदैन । अहिले हामी पार्टी एकता गर्ने मूडमा पनि छैनौं । भोलि पार्टीको एकता नै भएछ कुनै कालखण्डमा भने नहोला भन्न सकिँदैन, तर घर फर्की भन्दैमा हामी विद्रोह गरेर हिँडेका फर्किने कुरा सम्भव छैन ।’ उपप्रमुख अर्यालले आफूहरु समाजवादको आधार तयार गर्न सबै वामपन्थी शक्तिहरु एकजुट हुनुपर्छ भन्ने पक्षमा रहेको सुनाए ।

उनले एमालेको आह्वानबारे भने, ‘हामी एकताको विरोधी होइनौं । त्यस्तो आह्वान त हामी पनि एमालेलाई गर्छौं नि ! तपाईंहरु हाम्रो पार्टीमा आउनुस्, हामीले नै वामपन्थी एकताको नेतृत्व गर्ने हो । एमालेको जस्तो प्रस्ताव त एमालेका सबै केन्द्रीय सदस्यहरुलाई हाम्रो पार्टीमा आउन आह्वान गर्छु ।’

प्रकाशित मिति : २०८१ पुस २३ गते मंगलबार